केही दिनदेखि नेपालमा मनसुनी वर्षा जारी छ। आज (सोमबार) पनि देशका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभर बदली भई धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनेकाे छ:
‘देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसमविद्का अनुसार धेरै दिनदेखिको वर्षाले सबै ठाउँका जमिन भिजिसकेको हुनाले सामान्य वर्षा हुँदासमेत बाढी आउने तथा पहिरो जाने खतरा हुन्छ। तसर्थ सतर्कता अपनाउन जरुरी छ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले साेमबार बिहान ६:२० बजे जारी गरेकाे सूचनाअनुसार पछिल्लो ३ घण्टामा पर्सा, बारा, #रौतहट, #सर्लाही, #महोत्तरी र आसपास मध्यम-भारी वर्षा भइरहेको, थप वर्षा हुने, प्रदेश २ को भारतीय सीमा आसपासका #साना नदी र #डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन आवश्यक छ।

प्रतिक्रिया