सर्लाहीको धनकौलमा १४ असारमा भएको गोलीकाण्डमा संलग्न भएको आरोप लागेका प्रदेश २ को प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको घरबाट प्रहरीले हतियार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट गएको टोलीले आइतबार बिहान सांसद सिंहको धनकौल २ मा रहेको घरबाट एक थान दुईनाले बन्दुक बरामद गरेको हो। सर्लाहीका डिएसपी मदन कुँवरले सांसद सिंहको घरबाट बन्दुक बरामद भएको पुष्टि गरे।
‘घटना अनुसन्धानका लागि सांसद सिंहको घरबाट एक थान हतियार नियन्त्रणमा लिएका छौँ,’ नेपालखबरसँग डिएसपी कुँवरले भने, ‘बरामद हतियार लाइसेन्सप्राप्त हो। त्यो हतियारबाट घटनामा गोली चले/नचलेको अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’
१४ असारमा धनकौलमा सत्तारुढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित करिब २० जना घाइते भएका थिए। घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो।
घटनामा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्दप्रसाद सिंह र कांग्रेसबाटै निर्वाचित धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ।
६ असारमा सर्लाहीकै रामनगर-४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो। यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरी र १७ प्रदर्शनकारी घाइते भएका थिए।
गोली प्रहार गरेको भन्दै सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध पीडित पक्षले त्यतिबेलै किटानी जाहेरी दिएका थिए ।
तर, प्रहरीले सांसद र गाउँपालिका अध्यक्षविरुद्धको किटानी जाहेरी फिर्ता लिनुपर्ने अडान लिँदै आएको नेकपाका सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले बताए। घटनामा सांसद र गाउँपालिका अध्यक्षको संलग्नता अस्वीकार गर्दै आएको सर्लाही प्रहरीले अझै जाहेरी दर्ता गरेको छैन।
प्रहरीले गोली प्रहार घटनामा सांसद सिंह र गाउँपालिका अध्यक्षको संलग्नता अस्वीकार गर्दै आएको छ । तर, घटनाका प्रत्यक्षदर्शीहरुले भने सांसद सिंह र गाउँपालिका अध्यक्ष साहले नै घटनामा गोली प्रहार गरेको दाबी गर्दै आएका छन्।
घटनामा गोली चलाएको आशंकामा धनकौल गाँउपालिका २ बस्ने २९ वर्षीय मुकेश साहलाई प्रहरीले त्यतिबेलै नियन्त्रणमा लिएको थियो।
घटना अनुसन्धानका लागि घटनास्थल आसपासका क्षेत्रबाट यसअघि नै तीन चार थान हतियार बरामद भइसकेको डिएसपी कुँवरले बताए।
‘केही आरोपीलाई पक्राउ गरेका छौँ, केही फरार छन् । हामीले सिसिटिभी फुटेजको पनि अध्ययन गरेका छौँ,’ डिएसपी कुँवरले भने।
Shares

प्रतिक्रिया