कोरोना भाइरस संक्रमणको आशंकामा शुक्रबार कतारबाट फर्किएका एक सय ४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ।
कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
खरिपार्टी लगिएकामा एक बालिका, छ महिला पनि छन्। एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई क्वारेन्टिनमा लगिएको हो।
यसअघि विदेशबाट फर्किएकालाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिएको थियो।
तर, शुक्रबार कतारबाट आएका एक सय ४९ जनालाई भने कोरोना संक्रमण आशंकामा सिधै क्वारेन्टिन लगिएको हो। क्वारेन्टिनमा लगेर सबैको पिसिआर परीक्षणको तयारी गरिएको सिडिओ पाण्डेले जानकारी दिइन्। रासस

प्रतिक्रिया