समाज


पहिरोले घर पुर्दा रुकुम पश्चिममा आमाछोराको मृत्यु, छोरी घाइते

पहिरोले घर पुर्दा रुकुम पश्चिममा आमाछोराको मृत्यु, छोरी घाइते

नेपालखबर
असार २६, २०७७ शुक्रबार ८:७,

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हीरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ।

तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीको भनाइ छ। स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवितै उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

उनका अनुसार घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ। त्यस्तै इलाका प्रहरी कार्यालय आठबीसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा २ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। रासस
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad