समाज


म्याग्दीमा बाढी पहिरोमा परी ३२ जना बेपत्ता

म्याग्दीमा बाढी पहिरोमा परी ३२ जना बेपत्ता

नेपालखबर
असार २६, २०७७ शुक्रबार ५:५५,

अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा आएका बाढी तथा खसेका पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डीएसपी किरणजंग कुँवरले नेपालखबरलाई दिएको जानकारीअनुसार जिल्लाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी ३२ जना सम्पर्कविहीन भएका छन्।

‘३३ जना बेपत्ता भएकामा एक जनाको शव भेटिएको छ,’ डीएसपी कुँवरले भने, ‘अन्य ३२ जनाको खोजी भइरहेको छ।

उनका अनुसार शव भेटिएका व्यक्तिको नाम नालिमान छन्त्याल हुन्। ५० वर्षीय उनी रघुगंगा गाउँपालिका वडा नम्बर ६ का बासिन्दा हुन्।

‘विभिन्न स्थानबाट आएका सूचनाअनुसार ३२ जनाको सम्पर्कविहीन छन्,’ डीएसपी कुँवरले भने, ‘कतै बाढी कतै खोलामा परेर बेपत्ता भएका हुन्। पत्ता लगाउने र खोजी गर्ने क्रम जारी छ।’

म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डक्टरप्रसाद चौधरीका अनुसार शुक्रबार बिहान सवा २ बजे धौलागिरि गाउँपालिका वडा नम्बर ६, माराङरिखाको घन्टिवाङ भन्ने स्थानमा पहिरो खसेर स्थानीय भीमबहादुर दुग्जालीको कच्ची घर पुरिँदा एकै परिवारका ४ जना बेपत्ता छन्।

यस्तै अर्का स्थानीय धनबहादुर दुग्जालीको घरमा पहिरो खस्दा त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका छन्।

यस्तै धौलागिपरि गाउँपालिका वडा नम्बर ७, ताकमकलेनीमा पहिरोमा परी स्थानीय ५१ वर्षीया जालिमा केसी र उनका १७ वर्षीय छोरा प्रकाश हराइरहेका छन्। यस्तै मालिका गाउँपालिका ७ मा खसेको पहिरोमा परी स्थानीय ४० वर्षीया बिमा बस्नेत, विष्णु पौडेल र उनकी छोरी इशा पौडेल पनि बेपत्ता छन्।

यस्तै बेनी नगरपालिका ४ स्थित म्याग्दी खोलामा दाउरा टिप्न जाँदा बाढीले बगाएका स्थानीय दलबहादुर घर्ती र सूर्य थापालाई भने नेपाली सेना तथा प्रहरीको प्रयासमा सकुशल उद्धार गरिएको उनले बताए।

अहिलेसम्म प्राप्त नामावली यही भएको र अन्य विवरण संकलन गर्ने क्रम जारी रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

बेपत्ताको खोजी तथा स्थानीयको उद्धारका लागि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान १० बजे नै घटनास्थल प्रस्थान गरेको तर बीचबीचमा बाटो भत्किएको र पहिरो गएका कारण पुग्न कठिनाइ भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad