समाज


काजकस्तानमा देखियो ‘कोरोनाभन्दा घातक अज्ञात निमोनिया’

काजकस्तानमा देखियो ‘कोरोनाभन्दा घातक अज्ञात निमोनिया’

नेपालखबर
असार २६, २०७७ शुक्रबार ३:४१,

संसारभर काेराेना महामारी फैलिरहेका बेला काजकस्तानमा कोभिड–१९ भन्दा पनि झन् खतरनाक प्रकृतिको ‘अज्ञात निमोनिया’ रोग सुरु भएको बताइएको छ।

पूर्व सोभियत मुलुक काजकस्तानमा सो रोग जुन महिनादेखि सुरु भएको भन्दै त्यहाँस्थित चिनियाँ दूतावासले सबैलाई सतर्क रहन आह्वान गरेको छ।

‘यो रोगका कारण हुने मृत्युुदर कोरोना भाइरसले हुने भन्दा बढि छ। काजकस्तानका स्वास्थ्य विभागहरुले यो निमोनिया भाइरसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् तर त्यसको कारण पहिचान अझै हुनसकेको छैन,’ सो दूतावासले त्यहाँ रहेका चिनियाँ नागरिकहरुलाई सचेतनाका लागि जारी गरेको सूचनामा भनिएको छ।

चिनियाँ दूतावासले यसलाई ‘अज्ञात निमोनिया’ भनेको छ भने काजकस्तानकै अधिकारी र मिडियाले भने यसलाई निमोनिया मात्र भनेका छन्।

चिनियाँ दूतावासले यसलाई फरक ढंगबाट व्याख्या गर्नुको आधार भने प्रष्ट्याएको छैन।

दूतावासले त्यहाँका अत्यरउ र एक्तोवे प्रदेशहरु र श्येमकेन्ट शहर लगायतमा त्यस्ता बिरामीको संख्या जुनको मध्यदेखि ह्वात्तै बढेको जनाएको छ।

दूतावासका अनुसार ती ठाउँहरुमा अहिलेसम्म निमोनियाका बिरामीको संख्या ५०० पुगेको र तीमध्ये ३० जना गम्भीर अवस्थामा छन्।

नुर–सुल्तान शहरको हेल्थकेयर विभागका प्रमुख सउले किसिकोभाले त्यहाँ दैनिकरुपमा ‘करिब ३०० जना मानिसलाई निमोनिया भएर अस्पताल भर्ना हुने गरेको’ बताएका छन्।

त्यहाँको एक समाचार एजेन्सीका अनुसार जुन महिनामा देशभर १७ सय निमोनियाका बिरामी भेटिएको र सो संख्या गतवर्ष सोहि अवधिको भन्दा दोब्बर हो।

काजकस्तानमा कोरोना संकट सामना गर्न मार्च १६ मा आपतकाल लगाइएको थियो। मे ११ मा लकडाउन हटाइएको थियो। तर निमोनियाको समस्या देखिएपछि फेरी क्वारेन्टिन लगायतका निषेधात्मक व्यवस्था सुरु गरिएको छ।

त्यहाँका राष्ट्रपतिले बुधबार विशेष सम्बोधन गर्दै कोभिड–१९ को समस्या नसुल्झिँदै ठूलो संख्यामा निमोनियाका बिरामी देखिएपछि थप जटिलता देखिएको बताएका थिए।

–साउथ चाइना मर्निङ पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad