आफन्तले नै उपचारका क्रममा मृत्यु भएको प्रचार गरेका व्यक्ति चितवन मेडिकल कलेजबाट मंगलबार निको भएर घर फर्किएका छन्।
उपचारमा लापरवाही गर्दा बिरामीका मृत्यु भएको भन्दै आफन्तले कलेजमा तोडफोडसमेत गरेका थिए।
भरतपुर महानगरपालिका-२२ का १८ वर्षीय आशिष विक निको भएपछि मंगलबार अस्पतालबाट घर फर्किएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
भेन्टिलेटरमा राखेपछि बिरामीको मृत्यु भएको दाबी गर्दै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए। ‘मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ। तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु,’ उनले भने।
अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिए। अस्पताल तोडफोडमा परिवार संलग्न नभएको उनको भनाई छ। ‘अस्पताल तोडफोडमा मेरो संलग्नता थिएन,’
आफूले नबोलाए पनि मृत्यु भएको हल्ला चलेपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए।
आषिसलाई एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो। उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो।
बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएपछि डिस्चार्ज गरिएको जानकारी दिए।
रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए। यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने न्यौपानेको भनाई छ।
अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए। रासस

प्रतिक्रिया