छापा खबर


किन बढिरहेको छ बालिकाहरुमाथि क्रूरता?

किन बढिरहेको छ बालिकाहरुमाथि क्रूरता?

नेपालखबर
असार २४, २०७७ बुधबार १:४१,

०७५ साउनमा कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। अभियुक्त अहिलेसम्म पत्ता लागेको छैन। घटना अझै रहस्यमय छ।

काभ्रेको तेमाल गाउँपालिकामा गत वर्ष असार २० गते ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भयो। काभ्रे प्रहरीले उक्त घटनामा संलग्न ३ अभियुक्तलाई पक्राउ गरी कारबाही चलायो।

रूपन्देही कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया बालिकाको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भयो। रूपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएपछि सन्दीपकुमार धोबी कारागारमा छन्।

धनुषाको जनकपुरधाम कुर्थाकी नाबालिका कञ्चनकुमारी पंजियारको हालै बलात्कारपछि हत्या भयो। शंकास्पद भारतीय नागरिक दीपु सिंह पक्राउ परेका छन्।

बलात्कार र बलात्कारपछि हत्यासम्बन्धी जघन्य अपराधका केही दृष्टान्त हुन् यी। त्यसमाथि पनि बालिकामाथि हुने क्रूर हिंसा बढी देखिन्छ।

यति निर्दयी कृत्य किन गर्छन्? खोजबिनकै विषय बनेको छ। प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार यो आर्थिक वर्षको जेठसम्म जबरजस्ती करणीका १ हजार ९ सय ४५ वटा घटना भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा यम विरही र सुवास गोतामेले लेखेका छन्।

अदालतमा पुगेका बलात्कार मुद्दा हेर्दा घटनामा अधिकांश चिनजान र आफन्तकै संलग्नता देखिन्छ। नाबालिकाहरू त झन् आफन्तबाटै बढी मात्रामा बलात्कारको सिकार भएका छन्। ५ वर्षयताकै बलात्कारका अपराध हेर्दा कहालीलाग्दो अवस्था देखिन्छ।

तथ्यांकअनुसार लकडाउन अवधिमा बलात्कारका घटना मात्रै १ सय ५५ वटा भए। सबैभन्दा बढी ३७ घटना प्रदेश ५ मा भएका छन्।

प्रदेश १ मा २६, २ मा २५, वाग्मतीमा २०, कर्णालीमा १५ र सुदूरपश्चिममा १५ घटना भए। गण्डकीमा सात, काठमाडौं उपत्यकामा १० घटना भए। बलात्कार उद्योगका ३१ घटना भए। सबैभन्दा बढी क्वारेन्टाइनमा घटना भएको देखिन्छ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार अदालतमा दायर अभियोग तथ्यले पनि बलात्कार घटना बढेको देखाउँछ।

महान्यायाधिक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले बलात्कारका घटना प्रतिवर्ष बढिरहेको बताए।

उनका अनुसार नयाँ फौजदारी संहिताका कारणले पनि बलात्कारमा अपराधको क्षेत्र बढाएको अवस्था छ। ‘उजुर गर्ने चेतनास्तर बढेका कारण पनि मुद्दाको संख्या बढेको हुन सक्छ। जे भए पनि बलात्कारका अपराध बढ्ने कुराले सामाजिक सुरक्षाको चिन्ता बढाएको छ’, उनले भने, ‘लकडाउनको अवस्थाले पनि यस्तो देखाउँछ।’

सामाजिक सञ्जाल, युट्युब, अश्लील भिडियो, पश्चिमा संस्कृतिको प्रभावले पनि यस्ता घटना बढेको हुन सक्ने उनको भनाइ छ।

फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता लभकुमार मैनालीले बलात्कारका घटना विगतमा पनि हुने गरेको तर सूचना, चेतना र सञ्चारका कारण बाहिर नआएको बताए।

‘अध्ययन नभएका कारण अहिले बढेजस्तो देखिए पनि विगतमा पनि कमी थिएन। धनीमानी, ठूलाठालु जमिनदारबाट पनि हुने गथ्र्यो’, उनले भने, ‘अहिले बढी थाहा भएका कारण मात्र बढीजस्तो देखिएको हो। बलात्कारका घटना हिजो पनि उस्तै थियो आज पनि छ। किन, कति भयो भनेर ठोस रिसर्च हुनै सकेको छैन।’

रिसर्चपछि मात्र समाधानमा जान सहज हुने उनको भनाइ छ। कतिपय झुटा उजुरीका कारण पनि संख्या बढी देखिएको उनले बताए। बलात्कार बढ्नु–घट्नुमा नैतिक शिक्षा, संस्कार र चेतनाको स्तरमा भरपर्ने भनाइ मैनालीको छ।

बलात्कारका घटनाबाट जोगिन आफैं सचेत हुनुपर्ने देखिन्छ। परिवारका सदस्य चनाखो हुनु जरुरी छ। कसैसँग व्यवहार गर्दा, एकान्त स्थानमा हिँड्दा होस् वा आफू नजिकका व्यक्तिले गर्ने व्यवहारको मूल्यांकन गर्नु जरुरी हुन्छ। पहिला आफू सुरक्षित हुनुपर्छ।

परिवारकै सदस्यबाट यौन दुव्र्यवहारका घटना भएको अवस्थामा पीडितले परिवारका सदस्य वा नजिकको प्रहरीमा भन्ने हिम्मत राख्नुपर्छ। यौन हिंसा जति लुकायो त्यति नै डरलाग्दो रूप लिन्छ। यौन शिक्षाको पनि जरुरी छ। यससँगै विद्यालयमा पनि यौन हिंसाबाट जोगिने उपायका बारेमा शिक्षा दिनु जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad