समाज


गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नेपालखबर
असार ३१, २०८३ बुधबार २१:४१, त्रिवेणी (नवलपरासी)

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेष्टुरेन्ट अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्यटकीय तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ।

नाम सुन्दा मानिसका लागि सञ्चालन गरिएको रेष्टुरेन्टजस्तो लागे पनि यो गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको संरक्षण केन्द्र हो। पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिका कारण गिद्धको सङ्ख्या तीव्र रूपमा घट्न थालेपछि समुदाय, संरक्षणकर्मी र सरोकारवालाको सहकार्यमा सन् २००६ मा जटायु रेष्टुरेन्ट स्थापना गरिएको थियो। डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो।

जटायु रेष्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको छ। नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति यहाँ अभिलेख भएका छन्। तीमध्ये चार प्रजाति रैथाने हुन् भने अन्य चार प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाइँ सरेर आउने गरेको जटायु रेष्टुरेन्टका संयोजक डीबी चौधरीले बताए।
    
रेष्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या बढ्नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ। ‘पहिला गिद्धको संरक्षणबारे धेरैको चासो थिएन। अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ बढेको छ र स्थानीयवासी संरक्षण अभियानमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्’, संयोजक चौधरीले भने।

कावासोती नगरपालिका–७, १२ र १३ रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा गिद्धका लागि सुरक्षित वासस्थान व्यवस्थापन गरिएको छ। गिद्धले बास बस्न रुचाउने सिमललगायतका अग्ला रूख रोप्ने, स्वच्छ पानीको व्यवस्था गर्ने, नियमित रूपमा सुरक्षित आहार उपलब्ध गराउने तथा घाइते वा कमजोर गिद्धको उपचार र निगरानी गर्ने व्यवस्था गरिएको जटायु रेष्टुरेन्टका कर्मचारी यम नेपालीले बताए।

जटायु रेष्टुरेन्ट अहिले संरक्षण केन्द्रमा मात्र सीमित छैन। पछिल्लो समय यहाँ गिद्ध अवलोकनका लागि जिल्लाभित्र तथा बाहिरबाट पर्यटकहरू आउने गरेका छन्। वनभित्र निर्माण गरिएको ‘सी–ब्लक’ (सी आकारको अवलोकन गृह) बाट पर्यटक तथा अनुसन्धानकर्ताले गिद्धले आहार ग्रहण गरिरहेको दृश्य नजिकबाट अवलोकन गर्न सक्छन्।

गिद्ध संरक्षणसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। वन्यजन्तु संरक्षण, जैविक विविधता र चराचुरुङ्गी अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको कर्मचारी नेपालीले बताए।

समुदायको सक्रिय सहभागिता, व्यवस्थापन र संरक्षणप्रतिको प्रतिबद्धताले जटायु रेष्टुरेन्टलाई गिद्ध संरक्षण, प्रकृति पर्यटन तथा अध्ययन–अनुसन्धानलाई एकैसाथ प्रवद्र्धन गर्ने देशकै सफल नमूनामध्ये एकका रूपमा स्थापित गरेको छ। स्थानीयवासीको अपनत्व र संरक्षणप्रतिको जागरणले सङ्कटापन्न गिद्धको संरक्षणमा मात्र होइन, पर्यावरणीय सन्तुलन कायम राख्न समेत महत्वपूर्ण योगदान पु¥याइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताए। डिभिजन वन कार्यालयबाट समेत गिद्ध संरक्षणको प्रयासलाई थप सबल बनाउनका लागि विभिन्न समयमा आवश्यक कार्यहरु गर्ने गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad