भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्।
झापा जिल्ला अदालतले सोमबार आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो। उनलाई झापा कारागारमा राखिएको छ।
झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले १० मंसिर २०७२ भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए।
झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले २० असारमा काठमाडौँको गोठाटारबाट पक्राउ गरेको थियो। लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी झापा ल्याएको छ।
नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया