तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषण र यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ।
हद म्याद सकिन लागेपछि सरकारी वकिलको कार्यालयले फरार रहेका बम्जनलाई १४ वर्षसम्म कैद र बालिकालाई ऐनअनुसार क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको हो। १४ देखि १६ वर्षका बालिकालाई बलात्कार गरेको कसुरमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने मुलुकी अपराध संहितामा व्यवस्था छ।
२०७३ साउन २० गते सर्लाहीको आश्रममा उनले १८ वर्षीया युवतीलाई बलात्कार गरेको सार्वजनिक भएको थियो। घटना बाहिर आएपछि २०७५ मा पीडितले जाहेरी दिएकी थिइन्।
गत फागुनमा जिल्ला अदालत सर्लाहीले उनलाई पक्राउ गर्न आदेश दिएको थियो। बम्जनलाई प्रहरीले तीन पटक पक्राउ गर्ने प्रयास गरेपनि असफल भएको थियो।
बिहीबार दर्ता भएको मुद्दामा बम्जनका दुई सहयोगीलाई समेत मतियारका रूपमा मुद्दा दायर गरिएको छ। तोप्चेन महात्मा गुरु बताउने ज्ञानकुमार बम्जन र जितबहादुर तमाङविरुद्ध मतियारको अभियोगमा मुद्दा दायर भएको छ।

प्रतिक्रिया