ad ad

समाज


हिरासतमा आत्महत्या गर्ने युवाको सुसाइड नोट– यस्तो आरोप खेप्नुभन्दा संसारबाटै बिदा लिन्छु

हिरासतमा आत्महत्या गर्ने युवाको सुसाइड नोट– यस्तो आरोप खेप्नुभन्दा संसारबाटै बिदा लिन्छु

नेपालखबर
असार १७, २०७७ बुधबार १०:२४,

नवनिर्मित भवनको उद्घाटन गर्दै बुधबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरको प्रांगणमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले भनिरहेका थिए, ‘समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ छ।’

त्यति नै बेला खबर आयो हिरासतको शौचालयमा एकजना थुनुवा झुण्डिएका भेटिए।

यता कार्यक्रम चल्दै गयो, केही प्रहरीले झुण्डिएका थुनुवालाई पाटन अस्पताल लगे। अस्पतालले १०:४६ मा मृत्यु भइसकेको घोषणा गर्‍यो।

तीनदिन पहिले बलात्कार आरोपमा पक्राउ परेका सप्तरीका दुर्गेश यादवले बाथरुमको झ्यालमा रहेको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

उनलाई राखिएको हिरासतमा सुसाइड नोट फेला परेको छ। साे हिरासत कक्षमा फेला परेको सुसाइड नोटको माथी अंग्रेजीमा लेखिएको छ, ‘आइएम नट अटेम्प्ट द रेप, प्लिज सेभ मी गड।’

त्यसपछि उनले नेपालीमा लेखेका छन्, ‘मैले कसैलाई रेप गरेको छैन, मलाई आरोप लगाइएको छ म त्यस्तो मान्छे पनि होइन, नराम्रो सोचेको होइन, म यस्तो आरोप सहेर बाँच्न सक्दिनँ। म माथी लगाएको आरोप सहेर बाँच्न सक्दिनँ, म आफ्नो कारणमा जिम्मेवार म आफैं हो। म यो दुनियाँबाट बिदा हुन गइरहेको छु।’

२४ वर्षीय यादव असार १४ गते राति जबरजस्तिकरणी उद्योग सम्बन्धी कसुरमा पक्राउ परेका थिए। ललितपुर प्रहरी हिरासतमा ७ जना थुनुवा रहे पनि अरु पहिले नै आएका र उनीहरुको काेरोना परीक्षण भइसकेको थियो।

उनको स्वाब संकलन गरिए पनि कोरोना परीक्षणको रिपोर्ट नआएकाले छुट्टै राखिएको थियो। यादवलाई ५ दिन म्याद थप गरिएको थियो।

उनले १७ वर्षकी एक युवतीलाई ग्वार्कोमा १४ गते राति साढे १० बजेतिर जबर्जस्तिकरणी गर्न खोजेको आरोपमा त्यसैबेला पक्राउ परेका थिए।

बुधबार बिहान शौचालय गएका यादव निकै समय नआएपछि प्रहरीले बोलाएका थिए। तर उनी नबोलेपछि ढोका फोरिएको थियो। उनी भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए।

हेल्थ असिस्टेन्ट (स्वास्थ्य सहायक) रहेका यादव कोटेश्वरमा बस्दै आएका थिए। उनको शव बुझ्नका लागि सप्तरीबाट आफन्त आउँदै गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धानको लागि ललितपुरका एसपी तुलाबहादुर कार्कीको संयोजकत्वमा समिति बनाएको छ।

उनले सो कागजमा धेरै ठाउँमा हस्ताक्षर समेत गरेको देखिन्छ।

याे पनि: प्रहरी परिसर ललितपुरमा नयाँ ब्यारेक भवन उद्घाटन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .