समाज


दिलीप महतोको हत्या भएको क्रसर सञ्चालनमा आउँदै, प्रशासन अनभिज्ञ

दिलीप महतोको हत्या भएको क्रसर सञ्चालनमा आउँदै, प्रशासन अनभिज्ञ

शैलेन्द्र महतो
असार १५, २०७७ सोमबार १०:१६,

पर्यावरणीय अभियन्ता दिलीप महतोको हत्या भएको क्रसर आजदेखि सञ्चालनमा आउन लागेको छ। मिथिला नगरपालिका ५ श्रीपुरस्थित औरही खोलाको छेउमा रहेको क्रसरमा २५ पुस २०७६ मा २४ वर्षीय दिलीप महतोको हत्या भएको थियो। 

हत्या अभियोगमा क्रसर सञ्चालक विपीन महतो लगायत ७ जना धनुषा जिल्ला अदालतको आदेशमा पूर्वपक्षका लागि थुनामा छन्। घटना पश्चात उक्त क्रसरमा समेत रगत र घटनाको प्रमाणहरु फेला परेको थियो। त्यस बेलादेखि चुरियामाई प्रशोधन केन्द्र क्रसर बन्द थियो। तर सोमबार भने क्रसर सञ्चालनको लागि पूजाअर्चना भइरहेको मृतक दिलीपकी बहिनी लक्ष्मी महतोले नेपालखबरलाई जानकारी दिइन्।

‘मेरो दाई दिलीपले अझैसम्म न्याय पाउनु भएको छैन। तर आजदेखि क्रसर सञ्चालनको निम्ति पूजापाठ भइरहेको छ। त्यो क्रसरले हाम्रो पाँच कठ्ठा जग्गामा गिट्टी बालुवा थुपारेको छ’ दिलीपकी बहिनी लक्ष्मीले दुखेसो पोख्दै भनिन्।

churiyamai12.jpg

यता मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त क्रसर सञ्चालन गर्न नगरपालिकाले कुनै अनुमति नदिएको र कसरी सञ्चालन हुन लागेको भन्ने आफूलाई केही जानकारी नभएको बताए।

 ‘क्रसर सञ्चालन गर्ने विषयमा दुईजना युवक १० दिन अघि मकहाँ आएका थिए। क्रसरमा मेरो पनि पार्टनरसीप छ भन्दै थिए। क्रसर चलाउने अनुमति नगरपालिकाले दिन मिल्दैन भनेपछि फर्केर गए’, नगरप्रमुख महतोले भने ‘आज सञ्चालनको कुरा सुन्दैछु। कसले सञ्चालन गर्न लागेका छन् र कसले अनुमति दियो भन्ने मलाई केही जानकारी छैन।’

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि त्यो क्रसर सञ्चालनको विषयमा आफूलाई केही जानकारी नभएको, यस सन्दर्भमा बुझेर मात्र केही भन्न सकिने प्रतिक्रिया दिए।

धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सञ्चालनको निम्ति त्यहाँ पूजा अर्चजना भइरहेको आफूले जानकारी पाएको र अहिले त्यहाँ अझ थप कुरा बुझ्न इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुग्न लागेको बताए।

जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दीपक झाले समेत यस विषयमा अनभिज्ञता प्रकट गरे।

churiyamai13.jpg

औरही तथा बसही खोलामा गाउँलाई जोखिममा राखेर निरन्तर भइरहेको अवैध उत्खननको विरुद्धमा लागेका दिलीपलाई टिपरले किचेर हत्या गर्नु अघि फलामको लिभरले कोखमा घोचेर गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

मिथिला नगरपालिका २ नक्टाझिजका संजय यादवले क्रसर सञ्चालनका निम्ति आफूले पूजाअर्चना गरेको स्वीकार गरे। क्रसर कसैले बन्द नगराएको र पुनः सञ्चालनको लागि पूजाअर्चना गरेको संजयको भनाइ छ।

उनले नेपाखबरसँग भने ‘क्रसरमा विपीन लगायत धनुषाकै लक्ष्मीनिया गाउँपालिकाका नरेश यादव र जनकपुरका रफिक राइनको समेत लगानी छ। घटना पश्चात विपीन लगायत पक्राउ परे। क्रसर बन्द हुनुपर्छ भनि प्रहरी प्रशासनले केही भनेको छैन। त्यसैले म पनि पार्टनरसीप भएर नरेश र रफिकसँगै क्रसर सञ्चालनको तयारी गरेको छु।’

जघन्य घटना भएको क्रसर घटनाका पीडितले न्याय नपाउँदै सञ्चालनमा आउन लागेपछि स्थानीय भने आक्राेशित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .