समाज


वैज्ञानिक व्यवस्थापनका नाममा धमाधम वन फडानी, छानबिन गर्न संसदीय समिति गठन

वैज्ञानिक व्यवस्थापनका नाममा धमाधम वन फडानी, छानबिन गर्न संसदीय समिति गठन

नेपालखबर
असार ५, २०७७ शुक्रबार ९:३७,

वैज्ञानिक वनका नाममा अनियन्त्रित रुपमा वन फडानी भइरहेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन्।

सार्वजनिक लेखा समितिमा भएको छलफलमा सांसदहरुले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियन्त्रित तरिकाले फडानी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। सांसद प्रेम आलेले वैज्ञानिक वनका नाममा अनियन्त्रित फडानी र ठूलो घोटाला भएको बताए।

स्थानीयसँगको सहकार्य बिना नै सामुदायिक वनका अध्यक्ष र वनका कर्मचारीहरुले वैज्ञानिक वनको नाममा अनियन्त्रित रुपमा फडानी गरिरहेको उनले बताए। संघबाट नै यसलाई नियन्त्रण गरी दोषिलाई कारवाही गर्न उनले आग्रह गरे।

सांसद प्रदीप यादवले राज्य, नेता र वनका कर्मचारीहरुको मिलेमतोमा वैज्ञानिक वनको नाममा धमाधम काँचा काठहरु कटान भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए।

सांसद मोहम्मद इस्तियाक राईले बाँकेमा ६५ हजार क्यूफिट काठ काट्ने भनिएपनि १ लाख ५० हजार क्यूफिट बढी रुखहरु कटान गर्ने अनुमति किन दिइयो भन्दै प्रश्न गरे। विदेशबाट काठ आयात रोक्ने नाममा देशभित्रका सबै वनहरु फडानी गर्ने कस्तो वैज्ञानिक वन हो? उनले प्रश्न गरे।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले देशभरी रहेको कुल २२ लाख, ७२ हजार हेक्टर वन मध्ये १ लाख ७५ हजार ३ सय २१ हेक्टर वन क्षेत्र मात्रै वैज्ञानिक वन व्यवस्थापनका रुपमा रहेको बताए। २२ हजार ४ सय १५ सामुदायिक वनमध्ये ७ सय ५० वटा वनमा मात्रै वैज्ञानिक वन व्यवस्थापन लागु भएको उनले बताए।

समितिले लक डाउनको मौका छोपी वैज्ञानिक वन वयवस्थापनका नाममा फडानीका घटना बढिरहेको भन्दै छानबिन समिति गठन गरेको छ। सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्य रहेको समिति गठन भएको हो। समितिमा प्रेम बहादुर आले र मिना सुब्बा सदस्य रहेका छन्। समितिले वैज्ञानिक वन तथा व्यवस्थापनको नाममा भइरहेको फडानीको अध्ययन गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad