समाज


दुर्घटनामा नक्कली चालक खडा गर्ने इन्स्पेक्टर साधारण तारेखमा रिहा

दुर्घटनामा नक्कली चालक खडा गर्ने इन्स्पेक्टर साधारण तारेखमा रिहा

नेपालखबर
असार २९, २०७६ आइतबार १२:२०,

पूर्वी नवलपरासीस्थित गैँडाकोटमा भएको सवारी दुर्घटनामा पैसाको चलखेल गरी नक्कली चालक खडा गरेको आरोप लागेका प्रहरी निरिक्षक लोकबहादुर जिसी साधारण तारेखमा रिहा भएका छन्।

विशेष अदालतले इलाका पहरी कार्यालय गैंडाकोटका तत्कालिन प्रमुख इन्स्पेक्टर जिसीलाई साधारण तारेखमा रिहा गरेको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा आइतबार भएको थुनछेक बहसपछि उनी साधारण तारेखमा रिहा भएका हुन्।

एक जनाको ज्यान जानेगरी भएको सो दुर्घटनामा दोषीलाई बचाउन नक्कली चालक खडा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर जिसीलगायत केही प्रहरी अधिकारी र मतियारहरु विरुद्ध विशेषमा शुक्रबार मुद्दा दायर गरेको थियो।

इन्स्पेक्टर जिसीले गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटना घटाउने वास्तविक चालकलाई छोडी नक्कली सवारी चालक खडा गरी थुनामा राखेका थिए। सो घटनाका वास्तविक चालक बोधराज पाण्डे रहेकोमा उनले पाण्डेलाई जोगाउन किशुना महतोलाई नक्कली चालक बनाएका थिए।

वैशाख ११ मा बोधराज पाण्डेले चलाएको बा२०च ११७९ नंको जिपले ना२८ प ४६८५ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएको थियो। सोही घटनामा आर्थिक लेनदेनका आधारमा प्रहरीले किशुना महतोलाई नक्कली चालक बनाई उनलाई हिरासतमा राखेर मुद्दा चलाएको थियो।

निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै १० लाख खाएर पाण्डेको साटो महतोलाई नक्कली चालक बनाएर उभ्याएका पिडीत परिवारको दावी छ। महतोको सवारी चालक अनुमति पत्र छ भने दुर्घटनाको बेला सवारी चलाउने बोधराज लाइसेन्सविहीन हुन्।

घटनाको अनुसन्धान अधिकृत इन्स्पेक्टर जिसी, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बल बहादुर वली समेतले गलत अनुसन्धान प्रतिवेदन तयार गरेको अख्तियारको ठहर छ।

अख्तियारले घटनाका मुख्य आरोपी इन्स्पेक्टर जिसी, सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हवल्दार बलबहादुर वलीसहित गाडी चालक पाण्डे र मतियार शालिकराम पाण्डे विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आइतबार विशेषकाे आदेशमा सबै आराेपी साधारण तारेखमा छुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .