समाज


‘कोरोनाबाट बचाउने भनिएको औषधि नेपालमा सिटामोलजस्तै सहजै पाइन्छ’

‘कोरोनाबाट बचाउने भनिएको औषधि नेपालमा सिटामोलजस्तै सहजै पाइन्छ’

सागर न्यौपाने
असार ३, २०७७ बुधबार १५:१३,

कोरोना संक्रमितको ज्यान बचाउन प्रभावकारी भनिएको डेक्सामेथासोन नामक औषधि नेपालमा धेरै पहिलादेखि विभिन्न रोगको उपचारमा प्रयोग हुँदै आएको र सहजै पाइने डाक्टरहरुले बताएका छन्।

यद्यपि सो औषधिले कोरोना निको पार्छ भनेर ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाइ छ।

बेलायतमा अनुसन्धानकर्ताहरुले परीक्षणपछि सो औषधि कोभिड १९ का गम्भीर बिरामीको ज्यान बचाउन काम लाग्ने बताएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरत यादवले सरकारी तथा निजी अस्पतालका इमर्जेन्सीमा सो औषधिको प्रयोग गरिँदै आएको बताए।

‘डेक्सामेथासोन औषधि नेपालमा धेरै पहिलादेखि दम, निमोनिया, मेनेन्जाइटिस र एलर्जीका लागि प्रयोग गरिँदै आएको छ,’ डा. यादवले नेपालखबरसँग भने, ‘अब कोरोनाका बिरामीलाई प्रयोग गर्न सकिन्छ।’

विश्वका विभिन्न मुलुकमा सन् १९६० को दशकदेखि यसलाई दम, जोर्नी दुख्ने रोग, आदिको उपचारमा प्रयोग गरिन थालेको उनी बताउँछन्।

देउराली जनता फर्मास्युटिकल्सका प्रमुख हरिभक्त शर्माले सो औषधि केही नेपाली कम्पनीले उत्पादन गर्ने गरेको बताए।

‘औषधि पुरानै हो, आईसीयूमा रहेका बिरामी र इमर्जेन्सीमा यो औषधि राखिन्छ,’ उनले थपे, ‘सस्तो छ र सजिलै पाइन्छ तर, क्रिटिकल केसमा प्रयोग गरिने औषधि त्यत्तिकै गर्दा भने जटिलता आउन सक्छ।’

बेलायतमा भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई बचाउन सफल भएपछि यो औषधिबारे चर्चा चुलिएको हो। यसले भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८ मा  १  जना र अक्सिजन दिइएका २५ मा १ जनाको जीवन जोगाउने देखिएको छ।

अक्सफोर्ड विश्वविद्यालयको टोलीको नेतृत्वमा गरिएको परीक्षणका क्रममा अस्पताल भर्ना गरिएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएर अरु ४ हजारभन्दा बढी बिरामीसँग तुलना गरिएको थियो। जसबाट बिरामीको ज्यान बचाउन यो प्रभावकारी हुने निष्कर्ष निकालिएको थियो।

संक्रामक रोग तथा ग्राण्डी अस्पतालका क्रिटिकल केयर युनिटका चिकित्सक डा. प्रभात अधिकारीले विभिन्न रोगको उपचारमा प्रयोग हुँदै आएको सो औषधि कोरोना संक्रमितको उपचारमा लगाउन सके गजब हुने बताए।

‘यो औषधि कोरोना संक्रमण भएका बिरामीलाई प्रयोग गर्ने कि नगर्ने भन्ने दुविधा थियो,’ डा. अधिकारीले भने, ‘अब यसबारेमा अध्ययन हुन थालेको छ, नेपालले लाभ लिन सक्छ।’

नेपालमा सहजै पाइने सो औषधि प्राय: इन्जेक्सनबाट दिने गरिएको उनी बताउँछन्।

‘नेपालमा सजिलै पाइन्छ, सिटामोल जस्तै हो,’ डा. अधिकारीले थपे।

चाहिने भन्दा बढी रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन राख्ने काम पनि यसले गर्ने डा. अधिकारी बताउँछन्। नेपालको हिमाली क्षेत्रमा पदयात्रा जानेहरुले समेत यसको प्रयोग गर्ने गरेको उनले बताए।

‘श्वासप्रश्वासमा हुने समस्यालाई यो औषधिले निको बनाउँछ,’ डा. यादवले भन्छन्, ‘अहिले पनि कोभिड वार्डमा यही औषधि प्रयोग गरिएको हुनसक्छ।’

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। २० जनाको ज्यान नै गइसकेको छ।

पाटन अस्पतालका उपकुलपति डा. यादव सो औषधिले काम गर्छ भनेर अहिले नै ढुक्क हुने वैज्ञानिक आधार नभएको बताउँछन्।

‘हामीले पनि वर्षाैदेखि सो औषधि प्रयोग गर्दै आएका छौं, यसलाई कोरोनाको उपचारमा प्रयोग गर्न सके धेरै राम्रो हो तर, अहिले नै ढुक्क हुनेगरी वैज्ञानिक आधार भेटिएको छैन,’ उनले भने।

ग्राण्डी अस्पतालका डा. अधिकारी भने नेपालमै उत्पादन हुने र सजिलै पाइने औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग हुने भए ठूलो जोखिमको अन्त्य हुने बताउँछन्।

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा यसको प्रयोगका बारेमा कुनै रोकतोक नभएको उनले बताए।

‘परीक्षणबाट आएको निष्कर्ष मात्र हो, कोरोना बिरामीको उपचारमा यसलाई निश्चिन्त भएर प्रयोग गर्नका लागि थप वैज्ञानिक रुपमा पुष्टि हुन आवश्यक छ,’ डा. अधिकारीले प्रस्ट्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad