ad ad

समाज


कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २० पुग्याे

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २० पुग्याे

नेपालखबर
असार ३, २०७७ बुधबार १:३८,

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

काेराेनाबाट बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको मृत्यु भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। कोरोना कारण यसअघि १९ जनाको मृत्यु भइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिइसकेको छ।

बैजनाथ-६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए।

अहिले आफू चिकित्सकसहितको टोलीका साथ कन्ट्याक्ट ट्रेसिङका लागि मृतकको घरमा रहेको वडाध्यक्ष बस्नेतले नेपालखबरलाई जानकारी दिए।

‘उहाँलाई दम, मिर्गाैला, प्यारालाइसिसको पुरानो समस्या थियो,’ मृतकको घरबाटै बुधबार बिहान वडाध्यक्ष बस्नेतले भने, ‘नेपालगन्ज मेडिकल कलेजमा उपचारकै क्रममा असार १ गते राति उहाँको मृत्यु भएको हो।’ 

वडाध्यक्ष बस्नेतका अनुसार अहिले ती महिलाको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै छ।

‘त्यसको रिपोर्ट नआउन्जेल अस्पतालले शव आफन्तलाई दिएन,’ वडाध्यक्ष बस्नेतले भने, ‘मंगलबार बेलुका कोरोना पोजिटिभ रिपोर्ट आएको सूचना पाएपछि अहिले बिहानै हामी मृतकको घरमा आएको हौं।’

अब आजै अस्पतालले आफन्तलाई बोलाएर कोरोनाको विधिबाट शव व्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए।

उनका अनुसार ती महिला नेपालगन्ज मेडिकल कलेज जानुभन्दा अघि बैजनाथ गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको योगी मेडिकल हलमा पनि उपचारका लागि केही घण्टा बसेकी थिइन्। त्यहाँकाे उपचारले सञ्चाे नभएपछि उनी नेपालगन्ज मेडिकल कलेज गएकी थिइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .