समाज


गृह मन्त्रालयको निष्कर्षः  रुकुम हत्याकाण्ड वडाध्यक्षको योजनामा (प्रेस विज्ञप्तिसहित)

गृह मन्त्रालयको निष्कर्षः  रुकुम हत्याकाण्ड वडाध्यक्षको योजनामा (प्रेस विज्ञप्तिसहित)

नेपालखबर
असार १, २०७७ सोमबार १५:४२,

रुकुम पश्‍चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या त्यहाँका वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ।

घटना अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले गत जेठ १० गते भएकाे नरसंहार वडाध्यक्ष मल्लकै योजनामा भएको निचोड निकालेको हो।

गृह सहसचिव जितेन्द्र बस्‍नेत नेतृत्वको समितिले तयार पारेकाे प्रतिवेदनमा वडाध्यक्ष मल्लले ४ गाउँका मानिस भेला पारेर नवराज विकसहितको युवा समूहलाई ४ किलोमिटरसम्म लखेटेर मारेको उल्लेख छ।

‘रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ का वडा अध्यक्षसमेत भएको व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भनेर टोप बहादुर मल्ल, मान बहादुर मल्ल, नेत्र बहादुर मल्लसहितका गाउँलेलाई फोन गरेर बोलाइ नियन्त्रणमा लिन उत्प्रेरित गरेको देखियो,’ गृहको प्रतिवेदनमा भनिएको छ- ‘गोईरी औलकालाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको, गाउँ छिरेकालाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई अर्कोतिर पठाएको भेटियो। गाउँका मानिसलाई भेला गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुंगामुढा प्रहार गरी नवराज विकसमेत ६ जनाको ज्यानै लिनेसम्मको परिस्थिति सिर्जना गरी आफूसमेत उक्त कार्यमा संलग्न भएको देखिएको छ।’

वडाअध्यक्ष मल्ललाई कर्तव्य ज्यानसँगै जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ को उपदफा २९१० बमोजिम थप सजाय हुने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार उनीसहित ३४ जनालाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रियामा लगिएको छ। त्यस्तै हाललाई बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा ९४० बमोजिम सजाय हुनका साथै हाल फरार रहेका प्रतिबादीहरू तुलाराम घर्ती, क्वापे भन्‍ने लोकेन्द्र घर्ती, भिम बहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनको हकमा अदालतबाट पक्राउ पुर्जीसहितको म्याद जारी भएको विज्ञप्तिमा उल्लेख छ।

‘मृतकको परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति भराई दिनहुन समेतको सम्मानित अदालतमा मागदाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुनी प्रक्रिया प्रारम्भ भइसकेको छ,’ गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।  

gri1gri2gri3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad