समाज


सरकारको निर्देशनपछि अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

सरकारको निर्देशनपछि अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

प्रकाश सिलवाल
जेठ ३२, २०७७ आइतबार ३:१७,

कोरोना महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ।

सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइलाई निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो।

बढ्दो स्वास्थ्य जोखिम र जारी बन्दाबन्दीको स्थितिमा स्थानीय तह र विद्यालयले आफ्नो ढङ्गबाट तयारी गरिरहेका बेला सरकारको मार्गदर्शनपछि वैकल्पिक प्रणालीलाई हालका लागि निर्विकल्प मानिएको छ। तर प्रत्यक्ष कक्षामा पढ्ने आदत र परीक्षामुखी प्रणालीको अभ्यासमा यो विकल्प स्थापित गर्न तत्काल सहज हुन भने गाह्रो रहेको विज्ञहरुको भनाई छ।

निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण हुन थालेका छन्।

यद्यपि काठमाडौँकै धेरैजसो अभिभावकका पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ। गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगन छन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय समिति गठन गरी वैकल्पिक विधिको अनलाइन या दूरशिक्षाबारे अल्पकालीन र दीर्घकालीन सुझाव तयार गराई महामारीको यस अवस्थालाई शिक्षाको सूचना प्रविधिको फड्को मार्ने अवसर र चुनौतीका व्याख्या गर्दै आएका छन्।

निर्देशिकामा रेडियो, एफ रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने उल्लेख छ। निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुल्सीप्रसाद थपलियाले केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरेको र कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री तयार गरिएको जानकारी दिए।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार पाँच सय २० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन्।

सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये तीन हजार ६७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्।

विद्यालयमा भएको कम्प्युटर प्र्रयोगशला बन्दाबन्दीमा घरमा रहेका विद्यार्थीले उपयोग गर्न नपाए पनि विद्यालयको प्रशासन सञ्चालन हुँदा शिक्षकलाई सहज हुनेछ । चालू आवमा थप एक हजार माध्यमिक विद्यालयमा सूचना प्रविधिको प्रयोगशाला स्थापनाको लक्ष्य राखिएको थियो । सर्र्वेक्षणमा कक्षा १ देखि १२ सम्म कूल ७० लाख २१ हजार ६२२ विद्यार्थी छन्।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन् । कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ।

यही जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सहकार्यमा जनता टेलिभिजन, टिभी टुडे र योहो टिभीबाट पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ । विभिन्न जिल्लामा सामुदायिक रेडियोले पनि कक्षा शुरु गरेका छन् ।

काठमाडौँ महानगरले शुरु गरेको रेडियोमार्फतको पढाइमा महानगरपालिकाभित्रका ९१ सार्वजनिक विद्यालय, तीन विशेष विद्यालय र ६४३ संस्थागत (निजी) विद्यालयमा अध्ययनरत तथा आसपासका विद्यार्थी प्रत्यक्ष–अप्रत्यक्षरूपमा लाभान्वित हुनेछन्।

महानगरपालिकाको रेडियो कक्षाको संयोजन गरिरहेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले अनलाइनबाटै विद्यार्थीको आवेदन फारम भराई वैकल्पिक विधिको शिक्षा दिन शुरु गरिएको बताए।

यसबीचमा इन्टरनेट, रेडियो, टेलिभिजन, कम्प्युटरमा पहुँच भएका विद्यार्थीको पहिचान गरी शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिम दिइएको छ। भौतिक दूरी कायम गरेर पाठ्यपुस्तक वितरण भइसकेको छ। प्रअ कँडेलले विद्यालयको आफ्नै मोबाइल एप्सबाट विद्यार्थीलाई गृहकार्य दिने, गतिविधि बुझ्ने, परीक्षण गर्नेलगायतका काम गरिएको र असार मसान्तसम्ममा सबै विद्यार्थीलाई भर्चुअल अनलाइन कक्षामा रुपान्तरण गर्ने योजना रहेको बताए।

विभिन्न समयमा बोर्ड परीक्षामा सर्वोत्कृष्ट भई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल उक्त नमूना विद्यालय विश्व निकेतनमा गत वैशाखको पहिलो साता विद्यालयको वेबसाइट र सामाजिक सञ्जाल फेसबुकबाट गत वर्षको वार्षिक नतिजा प्रकाशन भइसकेको छ।

महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकार दूरदर्शीले विद्यालयले ६०५ विद्यार्थीलाई पुस्तक वितरण गरिसकेको र कक्षा १० का विद्यार्थीलाई विषयगत शिक्षकबाट यसै साताबाट अनलाइन कÞक्षा गुगल मिटामर्फत सञ्चालन गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad