बागलुङबाट चार जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। धवलागिरि अस्पतालबाट बुधबार चार जना डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुनेमा तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई पुरुष र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक छन्।
पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए।
‘चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन,’ उनले भने। एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ। लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिएको पोखरेलले बताए।
निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको उनले बताए। योसँगै बागलुङमा कोरोना निको हुनेको सङ्ख्या छ पुगेको छ। यसअघि गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन्।
जिल्लामा हालसम्म भेटिएका ४० सङ्क्रमितमध्ये अब ३४ जनामा मात्र कोरोना भाइरस संक्रमण छ। उनीहरुमध्ये १३ धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा छन् भने बाँकी धवलागिरी बहुमुखी क्याम्पस र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘प्रिआइसोलेसन’मा छन्।
सङ्क्रमितमध्ये बागलुङ नगरपालिकाका दुई महिलालाई बेल्जियमबाट आएपछि कोरोना देखिएको थियो। बाँकी सबै सङ्क्रमित हालै भारतबाट आएका हुन्। चिकित्सकका अनुसार सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ। कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन।

प्रतिक्रिया