कारोबार


विदेशमा रहेका नेपाली ल्याउने समय तालिका सार्वजनिक, कहाँबाट कहिले, भाडा कति?

विदेशमा रहेका नेपाली ल्याउने समय तालिका सार्वजनिक, कहाँबाट कहिले, भाडा कति?

वसन्त अर्याल
जेठ २९, २०७७ बिहिबार २:५८,

विदेशमा रहेका नेपाली ल्याउन जहाज र भाडासहित समय तालिका तय गरिएको छ।

कोरोना महामारीका कारण विभिन्न देशबाट फर्किने नेपालीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज र भाडा तोकेको हो।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने भएका छन्। नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक गरिएको उनले नेपालखबरलाई जानकारी दिए।

‘नेपाल वायुसेवा निगमले २४, हिमालयले १९ उडान गर्ने समय तालिका तय भएको छ,’ लामिछानेले भने, ‘तत्काललका लागि २४ वटासम्म विदेशी उडान गर्न दिने निणर्य भएको छ।’

उनका अनुसार स्वदेश फर्किन नाम लेखाएकालाई पहिलो चरणमा ल्याइने छ। नेपाल फर्किने नेपालीले स्वास्थ्य परीक्षण गराई आफूलाई कारोना नभएको प्रमाण पेस गर्नुपर्नेछ। अन्यथा नेपाल आउन दिइने छैन।

उडान: कहिले कहाँ ?
लामिछानेका अनुसार पहिलो उडान बंगलादेशका लागि यही जेठ ३२ हुने छ। नेपाल वायुसेवा निगमको जहाजले पहिलो उडान भर्नेछ। त्यस्तै असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ। असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ।

यसैगरी, असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ। असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ। असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछन्।

असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर त्यहाँबाट नेपाली ल्याइनेछ। असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्। असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।

भाडा: कुन देशका लागि कति?
चार्टड उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरिएको छ। विदेशी एयरलान्सले पनि उक्त भाडादर अनुसारै नेपालीको उद्धार गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा कम भाडा बंगलादेशका लागि १ सय ६५ डलर तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० डलर तय गरिएको छ। त्यस्तै साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, लन्डन १३४०, बांगलादेश १६५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुदाबी ५००, ओमन ५१०, क्वाललम्पुर ५२०,दोहा ५४५, हङकङ ५५० डलर तोकिएको छ।

याे पनि: कुवेतबाट तीन सय नेपाली महिला आज स्वदेश आउँदै, दुइटा जहाजमा उडिसके

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad