समाज


नारायणीका घाइते चिकित्सक ट्रमा सेन्टरमा, स्वास्थ्यबारे मन्त्री मेहताले लिइन् जानकारी

नारायणीका घाइते चिकित्सक ट्रमा सेन्टरमा, स्वास्थ्यबारे मन्त्री मेहताले लिइन् जानकारी

नेपालखबर
साउन ११, २०८३ सोमबार १७:३५, काठमाडौँ

नारायणी अस्पतालमा भएको आक्रमणमा गम्भीर घाइते भएका चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

उपचारका क्रममा एक वृद्धको मृत्यु भएपछि नारायण अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। त्यसक्रममा डा. राम गम्भीर घाइते भएका हुन्। 

उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो। उनको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ। 

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। उनले डा. रामको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। 

यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।

मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न अनुरोध गर्दै अस्पतालमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए। यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad