ad ad

समाज


नेपालमै कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ गरिँदै

नेपालमै कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ गरिँदै

नेपालखबर
जेठ २८, २०७७ बुधबार १२:२४,

कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ (अनुवांशिक अध्ययन) नेपालभित्रै गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नेतृत्वमा सरकारी तथा निजी संस्थाहरुको सहकार्यमा अध्ययन गर्ने तयारी भएको अधिकारीहरुले बताएका छन्।

‘जिनोम सिक्वेन्सिङको तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ। यसका लागि परिषदले विभिन्न सरकारी अन्य संस्थाहरुसँग सहकार्य गर्नेबारे छलफल भएको छ,’ परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘यस विषयमा एथिकल कमिटीले पनि स्वीकृति दिइसकेको छ।’

परिषदले राष्ट्रिय प्रयोगशाला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, विश्वविद्यालयहरु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र निजी कम्पनीहरुसँग पनि यस विषयमा छलफल भएको जनाएको छ।

मन्त्रालयले तीन साताअघि नै परिषदलाई यस विषयमा अध्ययन अघि बढाउन आग्रह गरेको थियो।

‘हामीसँगको छलफलमा काठमाडौँ विश्वविद्यालयले पनि सिक्वेन्सिङ गर्न आवश्यक पर्ने उपकरण नेपाल ल्याएको उहाँहरुले बताउनु भएको छ,’ डा. ज्ञवालीले भने।

जिनोम सिक्वेन्सिङको बहुआयामिक प्रयोग हुने भएपनि नेपालमा गरिने परीक्षणमा सबैभन्दा पहिले यहाँ देखिएको कोरोना भाइरस अन्य देशसँग के कति मेल खान्छ वा फरक हुन्छ भनेर हेरिने छ। यस्तो अध्ययनले नेपाली संक्रमित भएको भाइरसको उत्पत्ति मात्रै नभएर यसले ल्याउने सक्ने जटिलताको बारेमा पनि अध्ययन गरिने छ।

नेपालमा कोरोना भाइरसको प्रमुख स्रोत भारत, खाडी राष्ट्र, युरोप तथा चीन हुन्। बुधबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका व्यक्तिहरु भएको जानकारी गराएका थिए। बुधबार दिउँसोसम्म ४ हजार ८५ जना नेपाली संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितमध्ये हालसम्म १५ जनाको मृत्यु भएको भइसकेको छ।

‘अनुसन्धानका विषयमा विज्ञहरुसँग सल्लाह गर्दा पनि जिनोम सिक्वेन्सिङ नेपालमै गर्नुपर्छ भन्ने विषय आएको थियो। त्यसैअनुसार तयारी गरेका छौं,’ डा. ज्ञवालीले भने।

परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले फरकफरक कोरोना संक्रमितबाट संकलन गरिएको भाइरसको जिनोम सिक्वेन्सिङ गरिने बताए।

‘संक्रमितहरुबाट संकलन गरिएको नमुनाबाट विभिन्न क्षेत्रमा विभाजन गरेर सबैको क्षेत्रलाई समेट्ने गरी सिक्वेन्सिङ गर्ने छौं,’ धिमालले भने।

फरक फरक देशबाट आएका, मृत्यु भएका, निको भएका, तीन वटै भौगोलिक क्षेत्र, विभिन्न जातजाति, उमेर समूह, लिंग, संक्रमण भेटिएका समयसहितका समूह निर्धारण गरिएको छ।

नेपालमा कोरोना संक्रमण भएको व्यक्तिको पहिलो जिनोम सिक्वेन्सिङ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङ विश्वविद्यालयस्थित ल्याबमा गरिएको थियो।

सम्बन्धित निकायबाट स्वीकृति नलिई गरिएको सो अध्ययन विवादमा परेको थियो।

परिषदको स्वीकृति नलिई गरिएको सो अध्ययनमा संलग्न ६ जना वरिष्ठ अधिकारीहरुलाई सरकारले स्पष्टीकरण सोधेको छ। पहिलो संक्रमित व्यक्ति चीनको वुहानबाट आएका विद्यार्थी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .