ad ad

समाज


सुदूरपश्चिममा स्वाब संकलन रोकिएपछि आरडीटी पोजिटिभ देखिएकाहरु तनावमा 

सुदूरपश्चिममा स्वाब संकलन रोकिएपछि आरडीटी पोजिटिभ देखिएकाहरु तनावमा 

गोकुल जोशी
जेठ २८, २०७७ बुधबार १०:२२,

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन कार्य स्थगित भएपछि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुलाई समस्या भएको छ।

भारतबाट फर्किएकाहरुलाई दुई हप्तापछि आरडीटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आउनेलाई घर पठाउने गरिएको छ भने पोजिटिभ आएपछि छुट्टै आइसोलेसनमा राख्ने गरिएको छ।
स्वाब संकलन रोकिएपछि क्वारेन्टिनमा रहेका मानिससँगै आरडीटी पोजेटिभ आएकाहरुको पीसीआर परीक्षण हुन सकेको छैन्। यसले क्वारेन्टिन अवधि लम्बिएर आरडीटी पोजिटिभ आएकाहरू मानसिक तनावमा परेका छन्।

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले नधानेपछि सुदूरपश्चिममा नमूना संकलन रोकिएको थियो। यसले गर्दा भारतबाट फर्किएकाहरुको क्वारेन्टिन बसाईं लम्बिएको छ।

अहिलेसम्म सुदूरपश्चिमको नौ वटै जिल्लामा गरी ४४ हजार ८ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयलले जनाएको छ। तीमध्ये १७ सय ८१ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। भारतबाट आएका सुदूरपश्चिमका ६५ हजार ९ सय ९१ जना क्वारेन्टिनमा छन्। अझै भारतबाट फर्किने क्रम जारी नै छ।

भारतबाट फर्किएकाहरुमा कोरोना संक्रमण देखापरेको अवस्थामा सबैभन्दा बढी भित्र्याएको सुदूरपश्चिममा स्वाब संकलन रोकिएपछि क्वारेन्टिन बस्ने अवधि लम्बिँदै गएको हो।

कोरोना परीक्षणको पर्खाइमा ६५ हजार बढीको दैनिकी क्वारेन्टिनभित्रै सीमित बनेको छ। आरडीटी पोजिटिभ रिपोर्ट आएकाहरू बेलैमा पीसीआर परीक्षणको व्यवस्था नहुँदा मानसिक तनाबमा परेका छन्।
‘हाम्रो आरडीटी रिपोट पोजेटिभ आयो भनियो। अब पीसीआर परीक्षण हुन्छ भनियो। तर, स्वाब कहिले संकलन हुन्छ, टुंगो छैन्’, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाले भने, ‘हामीलाई मानसिक रुपमा कोरोना त्रास भरिँदैछ। न घर जान पाइन्छ न समयमा चेकजाँच हुन्छ।’

आरडीटी पोजिटिभ आएकाहरूले कहिले परीक्षण हुन्छ भनी आफूलाई सोधिरहेको र त्यसको उत्तर दिनसक्ने अवस्थामा नरहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कोभिड–१९ फोकल पर्सन प्रमानन्द भट्टले बताए।

प्रदेशमा एकमात्रै पीसीआर मेसिन भएको र धेरै स्वाब स्टक भएकाले स्वाब संकलनमा रोक लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले स्पष्ट पारेको छ। तर, आरडीटी पोजेटिभ आएका नागरिकको समयमै स्वाब संकलन नहुँदा उनीहरूमा मानसिक रुपमा कमजोर हुने चिकित्सकको भनाइ छ।

स्वाब संकलन रोकिएपछि आरडीटी पोजिटिभहरुलाई व्यवस्थापन गर्न समस्या उत्पन्न भएको महाकाली नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जयबहादुर महराले बताए। ‘आरडिटी पोजिटिभहरुलाई अहिले विद्यालयमा व्यवस्थापन गरिएको आरसोेलेसनमा राखिएको छ। उनीहरु व्यवस्थापन गर्न नसक्दा संक्रमणको त्रास छ’ उनले भने। आरडीटी पोजेटिभ आएका नागरिकको शीघ्र परीक्षण नहुँदा उनीहरूलाई के हुने हो भन्ने चिन्ताले सताएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .