ad ad

समाज


लकडाउनका बेला चोरीमा संलग्न २० पक्राउ

लकडाउनका बेला चोरीमा संलग्न २० पक्राउ

नेपालखबर
जेठ २४, २०७७ शनिबार ६:३४,

बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो।

भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

चोरी गरिएका साइकल काठमाडौँबाट ल्याएका हौँ भनी भीमदत्तनगर बजार क्षेत्रका मझगाँउ, भासी, सिसैया, विचपुरीलगायतका गाउँमा बेच्दै आएका चार जनालाई साइकलसहित पक्राउ गरिएको उनले बताए।

उनका अनुसार साइकल चोरीमा संलग्न जितेन्द्र बम, रोशन दमाइ, सन्तोष ओखेडा र नवीन कार्की रहेका छन्। पक्राउ परेका चारै जना भीमदत्त नगरपालिका–१८ बागवाणीका बासिन्दा रहेका छन्।

यसैगरी कञ्चनपुरमा विभिन्न समयमा विद्युतीय पानी मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोका पसलमा चोरी गर्ने तथा ब्रोइलर कुखुरा चोरीमा संलग्न २० जनालाई विभिन्न मितिमा पक्राउ गरी गरिएको उनको भनाइ छ।

चोरी कार्यमा संलग्न भएका पक्राउ परेका सबै जनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकालगायत क्षेत्रका छन्।

खैरो हेरोइनसहित पक्राउ
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने बर्ष ४० का जीवन भट्टलाई लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं ओसारपसारको अवस्थामा पक्राउ गरेको हो।

भट्टबाट १५ ग्राम ३५ मिलीग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .