समाज


नेपालमा बढ्दै निसर्ग चक्रवातको प्रभाव, वर्षा र हिमपात हुने भएकाले सतर्क रहन सुझाव

नेपालमा बढ्दै निसर्ग चक्रवातको प्रभाव, वर्षा र हिमपात हुने भएकाले सतर्क रहन सुझाव

नेपालखबर
जेठ २२, २०७७ बिहिबार २:१९,

अरब सागरमा विकसित निसर्ग नामको सामुद्रिक आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा बढ्दै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालमा उक्त चक्रवातको अप्रत्यक्ष प्रभावले हिजै (बुधबार) देखि नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने त्यो क्रम आज (बिहीबार) पनि जारी रहनेछ।

आज दिउँसो विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा हुने सम्भावना छ भने रातिदेखि मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा हुने उनले बताए।

माैसम महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ:  देशका केही स्थानमा   मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

‘भोलि (शुक्रबार) र पर्सि (शनिबार) वर्षा अझ बढ्ने सम्भावना देखिएको छ,’ बिहीबार बिहान मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘आइतबारदेखि मात्र निसर्गको प्रभाव कम हुँदै जाने देखिन्छ।’

महाशाखाकाे ट्विटर ह्यान्डल नेपाल वेदर फरकास्टमा बिहीबार बिहान भनिएकाे छ: शनिबारसम्म अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने, १-२ स्थानमा भारी वर्षासमेत हुने र उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यय हिमपात हुने सम्भावना छ। साथै नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भूभागमा पहिरोको समेत जोखिम।  

माैसमविद् पाैडेलका अनुसार निसर्ग चक्रवातको प्रभावले हिजै (बुधबार) देखि देशभरको मौसम बदली भएको छ भने अहिले (बिहीबार बिहान) पनि बदली नै छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, ५ नम्बर प्रदेशमा अहिले मौसम पूर्ण बदली (घाम नलागेको, पूरै आकाश बादलले ढोकेको) छ र केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ। वागमती, १ र २ नम्बर प्रदेशमा भने अहिले मौसम सामान्य बदली (अलि अलि घाम पनि देखिने) भएको छ।

मौसमविद् पौडेलका अनुसार मंगलबार अरब सागरमा विकास भएको निसर्ग चक्रवात हिजो (बुधबार) दिउँसोदेखि भारतका महाराष्ट्र राज्यका केही क्षेत्रका जमिनमा प्रवेश गरिसकेको छ।

उनका अनुसार चक्रवात जमिनमा ठोक्किएपछि त्यसको शक्ति कमजोर हुँदै जान्छ। तर पनि यो उत्तर–पूर्व सर्ने क्रममा नेपालतर्फ नजिकिने भएकाले त्यसका बाहिरी घेराका बादल यहाँ प्रवेश गरिरहेको छ। त्यसैको प्रभावले नेपालमा मौसम बदली र वर्षा गराएको/गराइरहेकाे हो।

माैसमविद् पाैडेलका अनुसार यसकाे प्रभावले बुधबार काठमाडौं उपत्यकामा फाट्टफुट्ट वर्ष भएको छ भने पोखरालगायत आसपासका क्षेत्रमा १२-१३ मिलिमिटर वर्षा भएको छ। यसैगरी सुदूरपश्चिमका अन्य ठाउँमा पनि वर्षा भएको छ, जसको तथ्यांक अहिले बिहान ९ बजेतिर मात्र आइपुग्ने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad