समाज


काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो छ अरू ठाउँको मौसमी अवस्था?

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो छ अरू ठाउँको मौसमी अवस्था?

नेपालखबर
जेठ १९, २०७७ सोमबार २:३०,

आज (सोमबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार प्रदेश ५ को पहाडी भूभागबाट विकसित पानी पार्ने प्रणाली  बिहानै काठमाडौं आइपुगेको हो।

यो पूर्व सर्ने क्रममा रहेकाले केही समयपछि काठमाडौंमा वर्षा रोकिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

‘अहिले प्रदेश ५ को पहाडी भूभाग, वागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ,’ नेपालखबरसँग उनले भने, ‘अझै केही बेर काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा वर्षा जारी रहने देखिन्छ।’

उनका अनुसार प्रदेश ‍५ का पहाडी क्षेत्रमा भने बिहान २ बजेतिरदेखि वर्षा भइरहेकाे हाे। 

पश्चिमी वायुबाट विकसित यो प्रणाली पूर्व सर्ने क्रममा रहेकाले यता वर्षा बन्द हुने र उता पूर्वी क्षेत्रमा पानी पर्न सुरु हुने उनले जानकारी दिए।

तर कर्णालीमा अर्काे नयाँ प्रणाली विकास भइरहेकाले प्रदेश ५ मा भने पानी पर्ने क्रम जारी रहने देखिएकाे उनले बताए। 

काठमाडौंमा चाहिँ करिब आधा घण्टापछि घाम लाग्ने सम्भावना रहे पनि फेरि दिउँसो कर्णालीमा विकसित नयाँ प्रणाली  पूर्व आउने भएकाले पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ।

‘अहिले देशको पश्चिमी क्षेत्रमा पश्चिम वायुको प्रणाली विकास भइरहने र पूर्व सर्ने क्रम चलिरहेको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘फेरि कर्णाली प्रदेशमा पश्चिमी वायुको नयाँ सिस्टम बनिरहेको छ, त्यो पनि पूर्व सर्ने क्रममा दिउँसोतिर काठमाडौं आइपुग्ने देखिन्छ।’

प्रिमनसुन भएकाले वर्षाका साथ हावाहुरी तथा मेघगर्जन/चट्याङको पनि उत्तिकै सम्भावना रहने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad