रुकुम हत्याकाण्डको अनुसन्धानमा सहयोग गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि रुकुम पश्चिम प्रस्थान गरेको छ।
आइतबार प्राविधिक सहयोग गर्न दुई जना जुनियर अधिकृतको टोली रुकुम प्रस्थान गरेको सीआईबी स्रोतले जानकारी दियो।
घटनाको अनुसन्धानमा छुट्टै टोली समेत परिचालन गर्ने विषयमा छलफल भइरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। तर अहिले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गरिरहेको अनुसन्धानमा नै सहयोग गर्न टोली पठाइएको सीआईबीले जनाएको छ।
यसअघि संघीय प्रहरी कार्यालय कर्णालीबाट पनि ८ जनाको टोली रुकुम पश्चिम पुगिसकेको छ। एसएसपी पोषराज पोख्रेलको नेतृत्वको टोलीमा ५ जना विशेष अनुसन्धान अधिकृतहरु छन्।
यस्तै गृह मन्त्रालयले गठन गरेको छानविन समिति र मानव अधिकार आयोगको टोली पनि घटनास्थल गएको छ।
जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली भागी विवाहका लागि गत शनिबार रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको बेला उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए।
उनीहरुमध्ये ५ जनाको भेरी नदीमा शव फेला परेको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन्।
सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको खोजी गरिरहेको छ।

प्रतिक्रिया