ad ad

समाज


सोती घटनाका घाइतेको गुनासोः सबै जना शव खोज्न लागे, हामीले उपचारै पाएनौं

सोती घटनाका घाइतेको गुनासोः सबै जना शव खोज्न लागे, हामीले उपचारै पाएनौं

नेपालखबर
जेठ १८, २०७७ आइतबार ९:१३,

यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन्। उक्त घटनामा भेरी नगरपालिका–४ रानागाउँका सुदीप खड्कालगायत १२ जना घाइते भएका थिए। यही जेठ १० गते जाजरकोटबाट आएका युवा आक्रमणमा पर्दा पाँचजनाको मृत्यु भएको छ तथा एक जना अझै बेपत्ता रहेको जनाइएको छ।

घटनामा जाजरकोट, भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा, सन्दीप (सञ्जु) विक, ११ का लोकेन्द्र सुनार र रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको छ भने भेरी–११का गोविन्द शाही बेपत्ता छन्। पाँचजनाकै शव भेरी नदीको किनारमा भेटिएको थियो।

घाइतेमध्ये सुदीप खड्काको हात र टाउकामा चोट लागेको छ। अर्का सरोज भँडेलको पिठ्यूँमा चोट लागेको छ। केहीको शरीरमा भित्री चोट लागेको जनाइएको छ। सबै शव खोज्नतर्फ लागेको र आफूहरुको उपचारमा कसैले ध्यान नदिएको उनीहरुले बताए। आफूहरुसँग व्यक्तिगतरुपमा उपचार गर्नका लागि पैसा नभएको गुनासो गर्दै उनीहरुले आफूहरुको उपचार हुनुपर्ने माग गरेका छन्।

कर्णाली प्रदेशसभाका सदस्यले पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयवासी र प्रत्यक्षदर्शीसँगको छलफलपछि घटनाको न्यायिक र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन्। नेकपाका सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताइन्।

प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी १७ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए।

सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरेर फर्किएका थिए। त्यस्तै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोलीले समेत शनिबारदेखि जाजरकोट र रुकुम (पश्चिम) को घटनास्थल र शव भेटिएको ठाउँको स्थलगत अध्ययन गरेको छ।

अपराधी उम्कन पाउँदैनन्ः र्डआईजी पन्त
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याइने बताए। उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका छन्।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन्। छोरा गुमाएका बलबहादुर विकले घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउन र दोषी उम्किन नदिन आग्रह गरे। डीआईजी पन्तले घटनाको निष्पक्ष छानबिन हुने बताए।

उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्। छानबिन निष्पक्ष हुन्छ। दोषी सजायको भागिदार हुन्छ। तपाईंहरुले न्याय पाउनुहुन्छ। मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिइसकेको छु।’

शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ। उनले घटनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अपराधीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए। डीआईजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .