जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र-३ बांगेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीपराज धामी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। शुक्रबार सुनसरी बराहक्षेत्र-३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको शव फेला परेको थियो।
शरीर तथा टाउकोमा चोटसहित शंकास्पद अवस्थामा शव फेलापरेपछि अनुसन्धान गर्दा उनको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो। हत्या भएको पुष्टि भएसँगै अनुसन्धान गर्दा हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
पक्राउ परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा कमललाई प्लटिङ जग्गामा लगेर लाठीले टाउको तथा शरीरका संवेदनशील अंगमा कुटपिट गरी हत्या गरेको स्वीकारेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया