ad ad

समाज


निको भएपछि जनकपुरका पुस्तक व्यवसायी भन्छन् : ‘कोरोना संक्रमण हुँदा जस्तो थिएँ, मुक्त हुँदा उस्तै छु’

निको भएपछि जनकपुरका पुस्तक व्यवसायी भन्छन् : ‘कोरोना संक्रमण हुँदा जस्तो थिएँ, मुक्त हुँदा उस्तै छु’

शैलेन्द्र महतो
जेठ १७, २०७७ शनिबार १५:५,

जनकपुरका कोरोना संक्रमित विजय चौधरी निको भएका छन्। उनी शनिबार नै जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनबाट डिस्चार्ज भएका हुन्।

गएको वैशाख ३० गते राति आएको पीसीआर रिपोर्टमा उनी लगायत जनकपुरका पत्रकार विरेन्द्र रमण र एक महिला गरी धनुषामा पहिलो पटक तीनजनामा कोरोना संक्रमण भेटिएको थियो।

शनिबार कोरोना मुक्त भएपछि घर फर्किएका पुस्तक व्यवसायी चौधरी महोत्तरीको जलेश्वर नगरपालिकाका बासिन्दा हुन्।

हाल उनी जनकपुरधाम उपमहानगरपालिका ४ पीडरिया माइस्थान नजिक डेरा गरी जनकपुरकै शुकरबारी बजार नजिक विजय स्टेशनरी संचालन गरिरहेका छन्।

वैशाख ३० गते राति कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ३१ गते प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। झण्डै १८ दिनपछि निको भएर उनी शनिबार घर फर्किएका हुन्।

घर फर्किरहेका उनले नेपालखबरसंग भने ‘मलाई कसरी कोरोना लाग्यो कसरी निको भएँ त्यहि पत्तो पाइन। जसरी कोरोनाको बारेमा सुनेको थिएँ। त्यस्तो केहि होइन। मलाई संक्रमण हुँदा र आज मुक्त हुँदा स्वस्थ्यमा त्यस्तो केहि समस्या अनुभूति भएन। जाँदा उस्तै थिए र आज मुक्त भएर फर्किदाँ उस्तै छु। हामीसँगै भर्ना भएका संक्रमितहरुको पनि स्वास्थ्यमा त्यस्तो कुनै समस्या देखिएको छैन। एकैठाउँमा बस्नुपर्दा मानसिक तनाब भने बढी हुने रहेछ।’

आइसोलेशनको व्यवस्थापन र खानपिनको कारण भर्ना भएको २–३ दिन पछि त्यस्तो महसुस भएको उनको भनाइ छ।

‘हामीलाई लग्दा केहि नहुँदा समेत तीनदिनसम्म एन्टिबायोटिक औषधि खुवाइयो। पत्रकार मित्र विरेन्द्र रमण जीले केहि आयुर्वेक औषधि घरबाट मगाउनु भएको थियो। हामी त्यसको झोल बनाएर सबैजना बाँडीचुडी खान्थ्यौं। उहाँले तातोपानी खान सल्लाह दिनुहुन्थ्यो। हामी तातो पानी धेरै खान्थ्यौं। हामीलाई स्वस्थ्य राख्न र आज मेरो निगेटिभ रिपोर्ट आउनुमा पत्रकार मित्र विरेन्द्रजीको ठुलो हात छ,’ चौधरीले भने।

पत्रकार रमण कोरोना मुक्त भएर गएको बिहीबार नै डिस्चार्ज भएका थिए। पुस्तक व्यवसायी चौधरी र पत्रकार रमणको नियमित भेटघाट थियो। उनी दुबैजनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा भर्ना गरिएको थियो।

अस्पतालको व्यवस्थापनले दुई–तीन दिन पश्चात अब रोगी हुन्छु जस्तो लागेको बताउँदै उनले भने ‘सुरुमा हामीलाई त्यस्तो केहि महसुस भएन। तर आइसोलेशन भित्रको व्यवस्थापन र खानपानले अब हामी साँच्चै बिरामी हुन्छु जस्तो लाथ्यो। सुरुसुरुमा खानामा बिहान चिया बिस्कुट, दिउँसो खानामा दालभात तरकारी र अपरान्हको खाजामा मुरही, च्युरा छोला, चाउचाउ दिइन्थ्यो। पछि सानो पाइलाले खानाको व्यवस्थापन गर्ने जिम्मा लिएपछि पौष्टिक खालको खाना दिन थालियो।’

आइसोलशनबाट डिस्चार्ज भएका चौधरीले जेलबाट मुक्त भएजस्तै अनुभूति भएको सुनाए। उनले अरुलाई सुझाब दिँदै भने ‘कोरोनाबाट नआत्तिनुस्। सकभर स्वच्छ सफा रहनुस्। तातोपानी खानुस्। झोलिलो पदार्थ बढी खानुस्। केहि फरक पर्दैन।’

पत्रकार रमण र चौधरीका परिवारका सदस्य र उनीहरुको सम्पर्कमा आएका जनकपुरका पत्रकारहरुको पनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। दुवैजनालाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भन्ने अहिले सम्म पत्तो लाग्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .