कोशी


देवानगञ्ज घटनाबारे के भन्छन् सुनसरीका सीडीओ?

देवानगञ्ज घटनाबारे के भन्छन् सुनसरीका सीडीओ?

नेपालखबर
साउन ११, २०८३ सोमबार १७:२५, विराटनगर

सुनसरी जिल्लाको देवानगञ्जमा एक जनाको ज्यान जाने गरी भएको घटनापछि बसेको सर्वदलीय बैठकले समस्या समाधानका लागि सबै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजको संयुक्त प्रयासमा शान्ति-सुरक्षाको अवस्था बिस्तारै सामान्य बनाउने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

हिंसात्मक घटनाहरूलाई रोक्न र साम्प्रदायिक सद्भाव थप बिग्रन नदिन आयोजना गरिएको सर्वदलीय बैठकले शान्ति कायम गर्ने सहमति गरेपछि अवस्था नियन्त्रणतर्फ उन्मुख भएको उनले बताए। 

घिमिरेका अनुसार, सर्वदलीय बैठकमा जिल्लाका प्रमुख राजनीतिक दल, नागरिक समाज र स्थानीय प्रतिनिधिहरू सहभागी भई धार्मिक तथा सामाजिक सद्भाव अक्षुण्ण राख्न पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुरक्षाको दृष्टिले संवेदनशील मानिएका प्रभावित क्षेत्रहरूमा स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यू जारी गरी सेना परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिएको बताए। ‘अहिले अवस्था नियन्त्रणमै छ र बिस्तारै जनजीवन सामान्य बन्दै जाने अवस्थामा देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने। 

विशेष गरी रात्रिकालीन समयमा हुन सक्ने अप्रिय घटना र सम्भावित चुनौतीहरूलाई ध्यानमा राख्दै प्रभावित क्षेत्र तथा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरू व्यापक परिचालन गरिएको छ। 

राजमार्गमा यातायात सेवा सञ्चालन गरिएको र आवतजावतलाई सुरक्षित बनाइएको प्रशासनले जनाएको छ।

स्थानीय समुदायको प्रत्यक्ष सहयोग र समन्वयमा स्थिति पूर्णरूपमा नियन्त्रणमा लिई स्थायी अमनचयन पुनर्स्थापना गर्ने प्रयास निरन्तर भइरहेको प्रजिअ घिमिरेले बताए। 

घिमिरेले समाजमा भ्रामक अफवाह फैलिन नदिन र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे। साथै कुनै पनि शंकास्पद गतिविधि वा सुरक्षा चुनौतीबारे समयमै प्रशासनलाई सूचना दिएर सहयोग गर्न उनले आग्रह गरेका छन्।

सुनसरीमा आइतबार राति दुई समूहबीच भएको विवादपछि गोली लागेर एक जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका छन्। 

सोमबार बिहानैदेखि सुनसरीको देवानगञ्ज तथा कप्तानगञ्ज क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि नेपाली सेना परिचालन गरिएको छ। 

बिहान ७ बजेदेखि नै जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु उल्लंघन गरेर ठूलो समूह सडकमा निस्किएपछि सम्भावित घटना हुन नदिन सेना परिचालन गर्नु परेको प्रशासनले जनाएको छ। 

यसैबीच सोमबार दिनभर सुनसरी तनावग्रस्त बन्यो। 

दक्षिणी क्षेत्रमा सेना परिचालन भएपछि केही मत्थर जस्तो देखिए पनि सुनसरी जिल्ला सदरमुकाम इनरुवा, लौकही जस्ता बजारहरूमा प्रदर्शन भएको छ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए भने पूर्वपश्चिम राजमार्गमा समेत मध्याह्न् केहीबेर अवरोध सिर्जना भएको थियो। 

आन्दोलनरत पक्षले सर्वसाधारणको घर, पसलमा आगजनी र तोडफोड गरेका थिए। सर्वसाधारण नागरिकलाई समेत ठाउँठाउँमा आक्रमण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad