समाज


डा. केसीले सुगर बढाउने औषधि लिन मानेनन्, स्वास्थ्य अवस्था जटिल बन्दै

डा. केसीले सुगर बढाउने औषधि लिन मानेनन्, स्वास्थ्य अवस्था जटिल बन्दै

नेपालखबर
साउन ११, २०८३ सोमबार १९:५६, काठमाडौँ

पाँच दिनदेखि सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीले सुगर बढाउने औषधि लिन मानेका छैनन् भने स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पताले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ। आईसीयू वार्डमा राखिएका डा. केसीको विशेषज्ञ चिकित्सकहरूले निगरानी गरिरहेको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार, डा. केसीको रक्तचाप ९०/५० एमएमएचजी रहेको छ। त्यस्तै, रगतमा चिनीको मात्रा ४२ एमजी/डीएल रहेको छ। यो शरीरलाई आवश्यकभन्दा न्यून रहेको अस्पतालले जनाएको छ। 

यसैगरी, पिसाबमा किटोनको मात्रा देखिएको र रगतमा एसिडोसिस देखा पर्न थालेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। यससँगै चक्कर लाग्ने, मांसपेशी डाउँडिने, कमजोरीका कारण बोल्न समेत असहज देखिएको जनाइएको छ। 

‘डा. केसीले आफ्नो अनसन जारी राख्दै सुगर बढाउने औषधि/स्लाइन लिन अस्वीकार गरिरहनु भएको अवस्था छ,’ अस्पतालले भनेको छ।

अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले चौविसै घण्टा सघन अनुगमन गरिरहेको भए पनि सुगर बढाउने औषधि लिन नमानेका स्वास्थ्यमा समस्या बढ्दै गएको जनाएको छ। ‘विगतमा लामो समयदेखि मधुमेहको समस्या तथा उमेरका कारण उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ,’ अस्पतालले भनेको छ। 

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्न, तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्नलगायतका माग राखी साउन ७ गतेदेखि डा. केसी सत्याग्रहमा छन्। 

धनगढीस्थित राधाकृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। उनका माग सम्बोधन गर्न सरकारी वार्ता टोली संवाद गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad