समाज


सांसद बब्लु गुप्ताले ‘स्टन्ट’ गर्दा मोटरसाइकल चालकलाई कारबाही

सांसद बब्लु गुप्ताले ‘स्टन्ट’ गर्दा मोटरसाइकल चालकलाई कारबाही

मोटरसाइकलमा ‘स्टन्ट’ गर्दै सांसद बब्लु गुप्ता र चालकलाई जरिवानाको रसिद दिँदै ट्राफिक प्रहरी।


नेपालखबर
साउन ८, २०८३ शुक्रबार १४:३२, काठमाडौँ

मोटरसाइकलको पछाडि उभिएर सांसद बब्लु गुप्ताले ‘स्टन्ट’ गर्दा ट्राफिक प्रहरीले चालकलाई कारबाही गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा-१ बाट निर्वाचित सांसद गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडिओ खिचेका थिए। पछाडि उभिएर ‘स्टन्ट’ गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

यसबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा मोटरसाइकल चालक पिताम्बर चौधरीलाई जरिवाना गराएको हो। 

ट्राफिक प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिरहा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित माननीय बब्लु गुप्ता सवार बागमती प्रदेश ०२-०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गरेको हुँदा मोटरसाइकल चालक पिताम्बर चौधरीलाई यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ट्राफिक प्रहरीद्वारा रु.५०० (पाँच सय) जरिवाना गराइ छाडियो।’

ट्राफिक प्रहरीले थमाएको रसिदमा पनि चालक चौधरीलाई पाँच सय रुपैयाँ जरिवाना गराएको उल्लेख छ। 

यसमा सांसद गुप्ताले पनि गल्ती भएको स्वीकारेका छन्। ‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुशी र रमाइलोको क्षणमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडिओ बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले यसमा माफी माग्दै लेखेका छन्, ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad