पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा वृद्धि भएसँगै नेपालमा संक्रमितको संख्या हजार नाघेको छ।
मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मात्रै नेपालमा १५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ भने अहिलेसम्म ५ जनाको संक्रमणकै कारण निधन भएको छ।
संक्रमितमध्ये ९४० पुरुष र १०२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म एक सय ८७ जना संक्रमित उपचारपछि निको भइ घर फर्किएका छन्।
नेपालमा गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।
याे पनि : आजमात्रै १५६ जनामा कोरोना संक्रमण
सुरुमा नेपालमा संक्रमणको दर थोरै रहे पनि पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ।
नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको १०६ दिनपछि संक्रमितको संख्या १०० नाघेको थियो।
गत वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो भने त्यसको ५ दिनपछि वैशाख ३० गते संक्रमितको संख्या २१७ पुगेको थियो।
चीनबाट नेपालमा कोरोना भित्रिएको भए पनि पछिल्लो समय भारतबाट आउने नेपालीहरु बढी संक्रमित भएको पाइएको छ।
पछिल्लो समय भारतबाट आएका र क्वारेन्टिनमा रहेका धेरैमा संक्रमित देखिएको भन्दै परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अझै बढ्ने विज्ञले बताउँछन्।
पछिल्लो तीन दिनको तथ्यांक हेर्दा पनि हरेक दिन बढ्दै गएको देखिन्छ।
कोरोनाबाट सबैभन्दा बढी प्रदेश ५, २ र १ बढी प्रभावित भएका छन् भने भारतबाट ठूलो संख्यामा नागरिक भित्रिएसँगै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश पनि खतराको सूचीमा छन्।

प्रतिक्रिया