हावाहुरीले रुख ढाल्दा मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ।
मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ-५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनामा घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ। त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुरका विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ।
हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको किसानहरुले बताएका छन्। खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ।
त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको छ। हुण्डरीले विद्युत् खम्बासमेत ढलेको छ। रासस
प्रतिक्रिया