संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ।
जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।
दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए।
कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद फैसला भएको छ।
अदालतका श्रेस्तादार न्यौपानेका अनुसार चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको छ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो।
सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको श्रेस्तेदार न्यौपानेले बताए। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।
कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरिएको थियो।
Shares

प्रतिक्रिया