उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभावले आज (मंगलबार) पनि देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान भने कोसी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल तथा बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मुख्यतया सफा छ। कोसी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ।
यस क्रममा दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। उच्च पहाडी-हिमाली भेगमा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
यस्तै राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र तराई भेग, कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मुख्यतया सफा रहने छ।
यस क्रममा राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भूभाग र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाडौँमा कस्तो होला मौसम?
अहिले (मंगलबार बिहान) काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।
तर दिउँसोपछ बिस्तारै बादल बढ्ने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।
‘अहिले काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै छ’, उनले नेपालखबरसँग भने, ‘तर अपराह्न ४ बजेपछि साँझपख क्षणिक र हल्का वर्षा हुने सम्भावना छ।’
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने आकलन छ।
हिजो सोमबार भने काठमाडौँ उपत्यकामा अधिकतम ३०.३ र न्यूनतम तापक्रम १९.८ डिग्री सेल्सियस थिए।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया