समाज


हट्यो कि हटेन नेपालमा अम्पुनको प्रभाव? यस्तो छ आजको माैसम अनुमान

हट्यो कि हटेन नेपालमा अम्पुनको प्रभाव? यस्तो छ आजको माैसम अनुमान

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार २:१४,

भारत र बंगलादेशमा विध्वंश मच्चाएको शक्तिशाली सामुद्रिक आँधी (चक्रवात) अम्पुन अहिले कमजोर भइसकेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो चक्रवात बिहीबार साँझदेखि नै कमजोर भई बंगलादेशमा न्यून चापीय प्रणालीमा खुम्चिएर बसेको हो।

‘भारत र बंगलादेशमा पनि त्यसको प्रभाव हटिसकेको छ,’ शुक्रबार बिहान उनले भने, ‘नेपालको पूर्वी भूभागमा यसको आंशिक मात्र प्रभाव परेको छ।’

त्यसका साथै स्थानीय वायुको समेत प्रभावले आज अपराह्नदेखि साँझसम्म देशको पूर्वी भूभागका थोरै तथा मध्य र पश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानांगले जानकारी दिए। यस्तै आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको उनले बताए।

माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छपूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ। 

यसअघि अम्पुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी भूभागमा मध्यमसम्म वर्षा गराएको माैसमविद् प्रधानांगकाे भनाइ छ।

अम्पुन आँधीका कारण भारत र बंगलादेशमा गरी ८० भन्दा धेरै मानिसको मृत्यु भएको छ भने घरलगायत सयौं भौतिक संचरना ध्वस्त भएका छन्। ५ लाख मानिस घरबारविहीन भएका छन् भने लाखौंलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बंगालको खाडीमा विकास भएको अम्पुन दसकयताकै शक्तिशाली सामुद्रिक आँधी भएको भारतका मौसमविद्ले बताएका छन्। बुधबार साँझदेखि त्यो आँधी जमिनमा ठोक्किन सुरु भएपछि भारतका पश्चिम बंगाल र ओडिसा तथा बंगलादेशमा समेत भौतिक तथा मानवीय क्षति भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad