छापा खबर


मृत्युमा पनि एक्ल्याउने ‘कोरोना काल’

मृत्युमा पनि एक्ल्याउने ‘कोरोना काल’

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार २:२२,

‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो।
इन्द्र्रै बिन्ति गरुन, झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्देन त्यो।

मृत्युको शाश्वतताका बारे कवि शिरोमणि लेखनाथ पौड्यालले कालमहिमा भन्ने आफ्नो कवितामा लेखेका पंक्तिहरु हुन यी। कवि शिरोमणिले इंकित गरेको ‘टारेर टर्दैन त्यो’ भनिएको मृत्युले कोभिड १९ को महामारीपछि टार्न सकिने मृत्यु पनि टार्न नसकिने बनेको छ।

कोरोना भाइरसले हाललाई मृत्युको अवधारणा, प्रकृति, संस्कार र विधिलाई पनि संक्रमण गरेको छ। भाइरसको महामारीले ‘जिउँँदाको जन्ती मर्दाका मलामी’ भन्ने नेपाली उखानलाई अर्थहीन बनाइदिएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

बन्दाबन्दी, आइसोलेसन र क्वारेन्टाइनले सामाजिक प्राणी रहेको मानिसलाई नितान्त एक्लो र मृत्युलाई त्योभन्दा पनि बढी त्रासदीपूर्ण, निरस र एकांकी बनाइदिएको छ। यसरी महामारीको पृष्ठभूमिमा मृत्युको पहिचान र सामाजिक परिकल्पना फेरिएको छ।

कोभिड–१९का कारण नेपालमा पहिलो मृत्युवरण गरेकी सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको धुलिखेल अस्पतालदेखि आर्यघाट (विद्युतीय शवगृह) सम्मको अन्तिम यात्रामा केही स्वंयसेवी र उनका पतिमात्र सहभागी भए।

बाँकेका २५ वर्षका अर्का मृतकको पनि अन्तिम दाहसंस्कार त्यस्तै रह्यो। उनको धार्मिक चलन अनुसार प्रहरीले मृतक ती युवकको शव जमिनमा गाडेका थिए। कोरोना भाइरसका संक्रमणका कारण बिहीबार ज्यान गुमाएका गुल्मीका ४१ वर्षका शिक्षकको अन्तिम संस्कार यो समाचार लेख्दासम्म कसरी गर्ने भनेर निक्र्योल भैसकेको छैन। तर निश्चित के छ भने उनको अन्तिमसंस्कार पनि पहिलेको जस्तो हुने छैन।

यसैगरी विश्वका विभिन्न देशमा रहेका झन्डै १ सय नेपालीको मृत्युपछिको संस्कार विधि र अन्तिम यात्रा परम्परागत रुपमा हुन सकेको छैन। धार्मिक विधि र प्रचलन संक्रमणको डरका अगाडि निस्तेज बनेका छन्। सम्बन्धित सरकारले जारी गरेका मृतकका अन्तिम संस्कारसम्बन्धी कडा निर्देशिका कार्यान्वयनमा छन्।

टाइम पत्रिकाको गत साताको अंकमा प्रकाशित एक लेखमा बोस्टन मेडिकल सेन्टरकी न्युरोलोजिस्ट प्रिया आनन्दले लेखेकी छन्, ‘कोभिड–१९ अघि मृत्यु हुँदा बिरामीलाई परिवारजनले घेरेका हुन्थे र अन्तिमपटक स्पर्स गर्न पाउँथे। तर अहिले एक अथवा दुईजना मात्र यो दुखद घडीमा उपस्थित रहेका हुन्छन्, त्यो पनि गाउन र हातमा पन्जा लगाएर। हामीले एकान्तमा हुने बिरामीको मृत्युको पीडा र प्रभावलाई बल्ल बुझ्न लागेका छौँ।’

धर्मोदय सभाका उपाध्यक्ष डा.केशवमान शाक्य भन्छन्, ‘मृत्य बुझ्नु भनेको जीवनलाई बुझ्नु हो। जीवन चित्त र शरीरको जोड हो। शरीरको क्षय हुन्छ, चित्तको हुँदैन, शरीर भौतिक रुपमा समाप्त भए पनि चित्तको प्रवाह निरन्तर रहन्छ। मृत्यु आफैंमा एक अन्त्य होइन, यो त एक प्रवाह हो, अहिलेको कर्मले अर्को पुनर्जन्मलाई परिभाषित गर्छ र अन्ततः सधैंभरि जन्मन नपर्ने स्थायी शान्ति अर्थात् निर्वाण प्राप्ति हुन्छ।’

कोरोना महामारीमा मृत्युपछिको संस्कार विधि र अन्तिम यात्रा परम्परागत रुपमा हुन सकेको छैन। धार्मिक विधि र प्रचलन कोरोना संक्रमणको डरले निस्तेज बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad