मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा देशको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल तथा कोसी, मधेस र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। अनि गण्डकी र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्म तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम बदली र वर्षा आज दिउँसो र राति पनि जारी रहने मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली र पहाडी भेगका केही स्थान तथा मधेस प्रदेशसहित कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी-हिमाली हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।
यस्तै राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ। बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। देशका तराई र पहाडी भूभागका केही स्थानमा हुरीको पनि सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि थप वर्षा हुने सम्भावना
काठमाडौँ उपत्यकामा थप वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति लगभग काठमाडौँ उपत्यकाभर वर्षा भएको थियो भने अहिले रोकिएको छ।
‘तर फेरि वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भनिन्, ‘गण्डकी र लुम्बिनीबिचमा विकसित पानी पार्ने प्रणाली बागमती प्रदेश (पूर्व) तर्फ सर्दै छ। जसले गर्दा काठमाडौँ उपत्यकामा फेरि वर्षा हुने सम्भावना छ।’
उनका अनुसार आज शुक्रबार काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने आकलन छ। गएराति भने काठमाडौँ उपत्यकाका एक-दुई स्थानमा भारी वर्षासमेत भएको थियो।
मौसमविद् महर्जनले शुक्रबार बिहान ८ बजेतिर भनिन्, ‘पछिल्लो १२ घण्टामा काठमाडौँको खुमलटारमा ६५.४ मिलिमिटर वर्षा भएको छ भने चन्द्रागिरिमा पनि झन्डै भारी ४७.४ मिलिमिटर वर्षा भएको छ।’
यसबाहेक काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा मध्यम वर्षा भएको उनले बताइन्।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया