समाज


बुवा खोज्न रुस पुगेकी आमा पनि उतै बितेपछि मुटुरोगी बालकसहित ३ सन्तानको बिचल्ली

बुवा खोज्न रुस पुगेकी आमा पनि उतै बितेपछि मुटुरोगी बालकसहित ३ सन्तानको बिचल्ली

हरिप्रसाद बास्तोला/रासस
जेठ १५, २०८३ शुक्रबार १४:९, गण्डकी

गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ।

कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उनको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगर पनि उतै बितेपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ।

बर्दियाको बाँसगढी नगरपालिका-४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा रहे पनि एजेन्टसँगको भेटपछि रुस पुगे। तर लामो समयसम्म श्रीमान्‌को कुनै खबर नआएपछि तीन सन्तानसहित पोखराको बाटुलेचौरमा मजदुरी गरेर गुजारा गरिरहेकी ४० वर्षीय इन्दिरा हारगुहार गर्दै रुस पुगिन्। 

तर श्रीमान् ज्ञानबहादुर युक्रेन युद्धमा परी मारिइसकेका रहेछन्। यो थाहा पाएर सबै प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई एक्कासी हृदयाघात भयो।

रुसस्थित नेपालीहरूको सहयोगमा उनलाई ओएमं पिलाटाभका नाममा रहेको सिस्टी क्लिनिकल अस्पताल १५ नम्बरको २३ वेस्न्याका भस्काया स्ट्रिट, मस्कोमा उपचारका लागि लगिएको थियो। तर उपचारका क्रममा गत वैशाख ३१ गते इन्दिराको निधन भयो। अहिलेसम्म पनि शव परीक्षण रिपोर्ट आउन सकेको छैन र आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउनसमेत कठिनाइ भएको इन्दिराका बुवा चिरन कार्कीले बताए। 

उनले भने श्रीमान्‌को खोजी गर्न छोरी गत फागुन ४ गते रुस जान भनी पोखराबाट काठमाडौँतर्फ लागेकी थिइन्। 

इन्दिराका परिवार अहिले मामाघरमा बस्ने गरेको छ। इन्दिराका कान्छा छोरा ८ वर्षीय सौरभ थापामगर कक्षा ३ मा पढ्छन्। मुटुमा समस्या भएका कारण सौरभको बेग्लै समस्या छ। नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावले उपचार रोकिएको छ।

आमाको निधन भएको थाहा नदिइए पनि केही दिनयता नाति सौरभ बाटोतर्फ हेर्ने, कम बोल्ने, मलिन र एकोहोरो स्वभावको बन्दै गएको हजुरबुबा कार्की बताउँछन्। 

पोखरा महानगरपालिका वडा नं १३ कसेरीस्थित मामाघरमा आश्रय लिएर बसिरेहका सौरभले भने, ‘आमा आउँदा साइकल ल्याइदिन्छु भन्नुभएको छ।’

ठुलो छोरा निरज थापामगरले भने, ‘घर राम्रोसँग हेर्नू र भाइबहिनीको ख्याल गर्नू भनेर आमाले सम्झाएर जानु भएको थियो, आज यस्तो अवस्था आयो।

बुवाको निधन पुष्टि भएपछि कुशको शव वनाएर दाहसंस्कार गरिएको उनले सुनाए। 

भावविह्ल हुँदै २४ वर्षीय निरजले भने, ‘बुबाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भयो अब के गर्ने?’

यो समस्या केवल एउटा परिवारको पीडा मात्र होइन, जोखिमपूर्ण वैदेशिक रोजगारीको कठोर यथार्थ पनि हो। गरिबी, बेरोजगारी र दलालको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ। त्यसको सबैभन्दा ठुलो मूल्य निर्दोष बालबालिकाले चुकाइरहेका छन्।

यो परिवारमा भविष्यको भन्दा पनि शव ल्याउने समस्यासमेत जटिल बनेको छ। पोखरा महानगरपालिका-१७ आँखा अस्पतालचोक निवासी इन्दिराकी माइतीतर्फ कान्छीआमा दिलमाया कार्कीका अनुसार एक साताअघि मात्रै इन्दिरासँग फोन सम्पर्क भएको थियो।

‘एउटै समस्या भएका हामी १२ जना नेपाली महिला एउटै कोठामा बसेका थियौँ, धेरै जना काम सकेर फर्किनुभयो, कोठामा कसैले कसैलाई सहयोग गर्न गर्दैनन्। घर फर्किन पाए परिवारलाई भेट्थेजस्तो लागिरहेको छ’, इन्दिराले सुनाएको पीडा दिलमायाले सम्झिइन्।

विमानस्थलमा अलपत्र परेकी इन्दिरालाई एक जनाले भेटेर हिन्दी भाषामा समस्या सुनाएपछि नेपालीले सहयोग गरेका थिए। 

‘माइतीतर्फका काकाको छोरा भाइ सुरज कार्कीलाई सहयोगीका रूपमा लिएर रुसको मस्को विमानस्थलमा झर्नेबित्तिकै सुरक्षाकर्मीले सोधपुछ गर्दै थियो, एकै छिनमा नेपाल फर्काइदियो, भाइको कपडा मेरो झोलामा थियो र सम्पूर्ण रकम भाइसँग थियो बोल्न पनि नपाएपछि बेखर्ची भएर विमानस्थलमै अलपत्र परे’, छोरी दिलमायाले आँखाभरि आँसु पार्दै भनिन्। 

अब बितेका दुवै जानको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुसी सरकारसँग पहल गर्नुपर्नेमा उनले जोड दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad