गएराति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ।
बिहीबार राति तीन घण्टामै ५७.६ मिलीमिटर वर्षा मापन भएको हो जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहीबार राति १० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलिमिटर वर्षा भएको छ।
यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलिमिटर वर्षा मापन भएको छ। सोही तीन घण्टाको अवधिमा सिन्धुपाल्चोकमा भने ७२ मिलिमिटरभन्दा माथि वर्षा भएको महाशाखाले जनाएको छ।
यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि गएराति वर्षा भएको छ। वर्षा भएसँगै पश्चिम तराईको तापक्रम केही घटेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तीन प्रणालीको प्रभाव अहिले नेपालमा क्रियाशील छ। त्यो प्रणालीले अबको केही दिन वर्षा र बदली हुने जानकारी विभागले दिएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्न सक्ने जानकारी दिएका छन्। जेठ १८ गतेसम्म नै मौसम बदली रहने उनले बताए।
Shares

प्रतिक्रिया