नुवाकोटको त्रिशूली जिल्ला अस्पतालका डाक्टरसहित ८ कर्मचारीको आरडीटी (रगत) परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि काेरोना परीक्षणका लागि त्यहाँ कार्यरत १५ जनाको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले आज उनीहरूको रिपोर्ट बिहीबार बेलुकासम्म आउने सम्भावना रहेको जानकारी दिए।
‘हामीले आरडीटी पोजिटिभ देखिएका ८ सहित अस्पतालका १५ कर्मचारीको स्वाब अस्ति (मंगलबार) पठाएका हौं,’ बिहीबार बिहान डा. राईले नेपालखबरसँग भने, ‘त्यसको रिपोर्ट आज बेलुकासम्म आउला,’ उनले भने।
उनका अनुसार अहिले यी सबै जनाको स्वास्थ्य अवस्थामा सामान्य छ भने उनीहरू स्वास्थ्यकर्मीकै निगरानीमा छन्। ‘अवस्था हेर्दा जहाँसम्म लाग्छ, सबैको पीसीआर रिपोर्ट नेगेटिभ आउला।’
‘यहाँ आरडीटी पोजिटिभ आउनेबित्तिकै लौ कोरोना भएछ भनेर गलत हल्ला फैलाइयो,’ उनले मिडियाप्रति गुनासो गर्दै भने, ‘त्यही भएर बाध्य भएर विज्ञप्ति जारी गरेका हौं।’ यस क्रममा डा. राईले कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने चिकित्सक/स्वास्थ्यकर्मीप्रति समाजको दृष्टि/व्यवहार अपहेलनापूर्ण भएको भन्दै दुःख पनि व्यक्त गरे।
चिकित्सकका अनुसार आरडीटी पोजिटिभ आउँदैमा आत्तिन पर्दैन। आरडीटी पोजिटिभ आए पनि पीसीआर नेगेटिभ आउँछ/आएका छन्। आरडीटी पोजिटिभ आउनुको अर्थ यसअघि कुनै बेला कोरोना संक्रमण भएको तर शरीरकाे एन्टिबडीले अहिले त्यो निष्क्रिय र अरूमा सर्न नसक्ने भइसकेको पनि हुन्छ। तर तत्कालीन अवस्थामा व्यक्ति संक्रमणकै अवस्था छ वा निकाे भइसकेकाे भन्ने निश्चित पीसीआर परीक्षणको नतिजाले गर्नेछ।
मेडिकल सुपरिटेन्डेन्ट राईले यी १५ जनामा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न कर्मचारी रहेको जानकारी दिए। यसमा एक जना वडाध्यक्षसमेत रहेको उनले बताए।
यसैगरी बुधबार पनि थप १० जनाकाे स्वाब टेकु प्रयाेगशालामा पठाइएकाे उनले जानकारी दिए। त्यसकाे रिपाेर्ट भने पछि १-२ दिनपछि आउने उनले बताए।
हेरौं त्रिशूली अस्पतालको विज्ञप्तिः

Shares

प्रतिक्रिया