राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सन् १८१६ को सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएका बलिया आधार नेपालसँग भएको बताएका छन्।
‘सन् १८१६ को सन्धिअनुसार काली नदीदेखि पूर्वका क्षेत्र नेपालका हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक काली नदीभन्दा पूर्वमा अवस्थित छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सन् १९६२ पछि भारतले नेपालका यी भूभागमा सैन्य ब्यारेक र सडकहरु बनाएको उनले बताएका छन्।
‘त्यसैले आफ्नो भूभागको कृत्रिम वृद्धि गरिएको भन्ने आरोप कसलाई लाग्छ त?’ पूर्वपरराष्ट्र तथा गृहमन्त्री समेत रहेका थापाले प्रश्न गरेका छन्।
नेपालले बुधबार भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि भारतको विदेश मन्त्रालयले नेपालको कदमलाई आफ्नो भूभागको कृत्रिम वृद्धि गरेको आरोप लगाएको थियो।
थापाले नेपालले कसैको उक्साहटमा यो विषय उठाएको भन्ने भारतीय सेना प्रमुख आरोपको पनि खण्डन गरेका छन्।
‘नेपालले बिभिन्न क्षेत्रमा भएका अतिक्रमणविरुद्ध ६ दशकदेखि निरन्तर कुरा उठाउँदै आएको छ,’ उनले भनेका छन्, ‘हामीले यो विषयलाई द्विपक्षीय संवाद मार्फत् नै सहमत भएका हौं।’
According to Treaty of 1816 ‘areas east of river Kali belongs to Nepal’.Limpiyadhura, Kalapani n Lipulekh lie east of Kali. After 1962 India built army barracks n roads in these areas of https://t.co/bv5k9U7F49 who is to be blamed for ‘artificial enlargement of territory’?
— Kamal Thapa (@KTnepal) May 21, 2020तर दुई पक्षबीच भएको सो समझदारी विपरित भारतले नेपाली भूभाग समेत मिचेर चीनसँग जोड्ने सडक उद्घाटन गरेका कारण समस्या थप बल्झिएको उनले बताएका छन्।
‘त्यसैले हामी आफ्नो राष्ट्रिय अखण्डताको रक्षा गर्न पहलकदमी लिन बाध्य भएका छौं,’ उनले लेखेका छन्। ‘कृपया नेपाललाई आरोप लगााउन बन्द गरौं। हामी संवादका लागि तयार छौं र तथ्य र प्रमाणका आधारमा यो मुद्दा सल्टाउन चाहन्छौं।’
Shares

प्रतिक्रिया