विदेशमा रोजगार गुमाएका लाखौँ नेपालीलाई फर्काउने तयारी सरकारले गरिरहेको छ। उनीहरुलाई क्वारेन्टिनमा राख्न राजधानीका होटल समेत प्रयोग गरिने भएको छ। यद्यपि होटलको खर्च श्रमिक आफैँले बेहोर्नुपर्ने छ।
राजधानीका कुन कुन होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने भनेर टुंगो लगाउने जिम्मा पर्यटनमन्त्री योगेश भट्टराईलाई दिइएको छ। यसबाहेक सरकारी खर्चमा श्रमिकलाई राख्न ठूलो संख्यामा क्वारेन्टिन निर्माण गरिने भएको छ। यसको जिम्मेवारी भने नेपाली सेनालाई दिने सरकारको तयारी छ।
वैदेशिक रोजगारको प्रमुख ७ गन्तव्य मुलुकबाट मात्र ४ लाखभन्दा बढी नेपाली फर्किने आकलन गरिएको छ। कतिपय मुलुकले श्रमिक लैजान नेपाललाई आग्रह समेत गरिसकेका छन्। उनीहरुलाई ल्याएपछि कसरी व्यवस्थापन गर्ने भनेर सरकारले तयारी थालेको हो।
श्रमिकलाई विमानस्थलमा उत्रिएदेखि घरसम्म पुर्याउन कसले के गर्ने भनेर जिम्मेवारी बाँडफाँट भइरहेको छ।
विदेशबाट फर्किने नेपालीको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिने छ। त्यसका लागि विमानस्थलमा स्वास्थ्य डेस्क स्थापना गर्ने सरकारको कार्ययोजना छ। स्वास्थ्य डेस्कमा परीक्षण गरेपछि अध्यागमनको काम पूरा गर्ने र त्यसपछि श्रमिकहरुलाई कोरोना विशेष स्वास्थ्य परीक्षण स्थलमा लगिनेछ।
त्यहाँ नमुना संकलन गरेर उनीहरुलाई अस्थायी क्वारेन्टिनमा लगिनेछ। तर, आफैं पैसा तिरेर होटलमा बस्छु भन्नेहरुले त्यो पनि पाउने छन्। त्यसका लागि सरकारले नै होटल तोक्ने छ। सरकारले अहिले होटल र क्वारेन्टिन व्यवस्थापन गर्न सुरु गरिसकेको छ।
अस्थायी क्वारेन्टिन निर्माण गर्न र विदेशबाट श्रमिक फर्काउने जिम्मा सेनालाई दिन लागिएको छ। यसअघि चीनको वुहानबाट १ सय ७५ जना नेपाली विद्यार्थी फर्काउँदा पनि ल्याउने र यहाँ क्वारेन्टिनमा राख्ने जिम्मा सेनालाई नै दिइएको थियो। उनीहरुलाई राख्नका लागि सेनाले नै खरिपाटीमा क्वारेन्टिन बनाएको थियो।
विदेशबाट ठूलो संख्यामा फर्किएकालाई राख्नेगरी क्वारेन्टिन बनाउन सेनाले राजधानीका केही खुल्ला ठाउँ सरकारलाई सिफारिस गरिसकेको छ। खुल्ला ठाउँमा क्वारेन्टिन तयार गर्न सेनासँग पर्याप्त त्रिपाल रहेको जंगी अड्डाले जनाएको छ।
विदेशबाट फर्किनेहरु स्वास्थ्य परीक्षणका क्रममा संक्रमित र शंकास्पद देखिए तत्काल अस्पताल लैजाने र निगेटिभ रिपोर्ट आएकालाई सम्बन्धित स्थानीय तह वा प्रदेश सरकारको जिम्मा लगाइनेछ। कोरोना परीक्षण र उपचारको जिम्मा केन्द्र सरकारले लिनेछ।
उनीहरुलाई घरसम्म पुर्याउन सरकारले नै गाडीको व्यवस्थापन गर्नेछ। यसको जिम्मेवारी यातायात व्यवस्थापन विभागलाई दिइएको छ।
गाउँमा उनीहरुलाई क्वारेन्टिनमा राख्ने, आवश्यक परीक्षण गर्ने र अन्य उपचारको व्यवस्था प्रदेश र स्थानीय तहले गर्नेछन्।
प्रदेश सरकारले आफ्नो प्रदेशमा रहेका नागरिकका सम्बन्धमा केन्द्रलाई जानकारी गराउने, क्वारेन्टिन तयार गर्ने तथा उपचारका लागि केन्द्रसँग मिलेर सहयोग गर्नेछ।
आफ्नो भूभागका बासिन्दाको जिम्मा सम्बन्धित स्थानीय तहले नै लिनु पर्नेछ। उनीहरुलाई राख्न आवश्यक क्वारेन्टिन र आइसोलेसनको व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ।
फर्किएका श्रमिकलाई क्वारेन्टिनमा नियमपूर्वक राख्ने जिम्मा स्थानीय तहकै हुनेछ। समस्यामा परेर फर्किएका श्रमिकलाई वैदेशिक रोजगार बोर्डबाट सहयोग दिलाउन र सीपको जानकारी लिई रेकर्ड राख्न पनि भनिएको छ।
कतिपय देशमा गैरकानूनी हैसियतमा रहेका श्रमिकलाई माफी दिलाएर फर्काउन पनि सरकारले पहल गर्नेछ।
अन्य देशको अभ्यास
भारतले विदेशबाट फिर्ता ल्याएका श्रमिकहरुलाई अलग अलग राख्न विभिन्न ठाउँमा करिब साढे दुई लाख कोठा तयार गरेको छ। होस्टल, होटल, सार्वजनिक भवन, निजी घर र खाली ठाउँ पहिचान गरिसकेको छ।
पाकिस्तानले क्वारेन्टिन बनाउन स्कुल, होटल लगायत १ सय ४० स्थानमा २४ हजार शय्याको व्यवस्था गरिसकेको छ। सरकारले उपलब्ध गराएको क्वारेन्टिनमा निःशुल्क बस्ने व्यवस्था छ, पैसा तिरेर होटलमा बस्न पनि सकिन्छ।
त्यस्तै, बंगलादेश सरकारले मध्यपूर्वी देशहरुबाट स्वदेश फिर्ता ल्याउन लागेको नागरिकलाई राख्न राजधानी ढाकासहित अन्य जिल्लामा क्वारेन्टिन तयार गर्दैछ।
फिलिपिन्समा ठूला होटललाई क्वारेन्टिन केन्द्र बनाइएका छन्। स्वदेश फिर्ता गरिएका आप्रवासी श्रमिकहरूलाई १४ दिने अनिवार्य क्वारेन्टिनमा राख्न ८७ कर्मचारी परिचालन गरिएका छन्। विभिन्न होटल क्वारेन्टिनहरूमा फ्रन्टलाइन कर्मचारीको २० वटा समूह खटाइएका छन्। फ्रन्टलाइन कर्मचारी र आप्रवासी श्रमिकमाथि कुनै विभेद वा दुव्र्यवहार हुन नदिन स्थानीय सरकारी युनिटहरूलाई आग्रह गरिएको छ। आफ्नै खर्चमा क्वारेन्टिनमा बस्छु भन्नेहरूलाई होटलको व्यवस्था गरिएको छ। सरकारी क्वारेन्टिन केन्द्र भने निःशुल्क उपलब्ध छ।
इन्डोनेसियाले पनि नागरिकको स्वास्थ्य र सुरक्षाका लागि स्वदेश फिर्ता गरिएका सबै नागरिकलाई १४ दिन अलग्गै राखेको छ। स्वदेश फर्कने सबै श्रमिकहरूको पहिलो र दशौं दिनमै र्यापिड टेस्ट हुन्छ। क्वारेन्टिन स्थलमा शारीरिक व्यायाम र मनोसामाजिक मूल्यांकन पनि गर्ने गरेको छ।
यो पनि:
सात मुलुकबाट मात्र ४ लाख नेपाली फर्किंदै, यस्तो छ तिनलाई ल्याउने योजना

प्रतिक्रिया