समाज


संक्रमणको जोखिम बढेपछि फिल्डमा खटिएका प्रहरीको संख्या घटाउने निर्णय

संक्रमणको जोखिम बढेपछि फिल्डमा खटिएका प्रहरीको संख्या घटाउने निर्णय

उजिर कार्की
जेठ ७, २०७७ बुधबार ११:४३,

सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम बढेपछि राजधानीमा खटिएका प्रहरीको संख्या घटाउने निर्णय भएको छ।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको छलफलमा न्यूनतम संख्यालाई मात्र फिल्डमा खटाउने निर्णय भएको हो।

जसअनुसार शान्ति सुरक्षाको अवस्थालाई खस्किन नदिन आवश्यक पर्ने संख्यालाई मात्र परिचालन गरिनेछ।

मंगलबार राजधानीका दुई प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि २ सय १४ जना प्रहरीलाई कार्यालयमै क्वारेन्टिनमा राखिएको छ।

कालिमाटी वृत्त र मातहत कार्यालय, ट्राफिक प्रहरी र महिला सेलमा कार्यरत प्रहरीलाई कार्यालयभित्रै राखिएको हो।

त्यसक्षेत्रमा ड्युटीका लागि एक सय जनाको टोली हेडक्वार्टरबाट पठाइएको छ।

महिला सेलका प्रहरी भने संक्रमण देखिएका प्रहरीको सम्पर्कमा नभएको पाइएपछि उनीहरु काममा फर्किने तयारीमा छन्। ट्राफिक र कालिमाटी वृत्तका प्रहरी भने परीक्षणको रिपोर्ट आएपछि मात्रै काममा फर्किने टुंगो लाग्ने छ।

त्यहाँका प्रहरीको बिहीबार कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

‘परीक्षणबाट निगेटिभ देखिएकाहरु फेरि ड्युटीमा आउँछन्। संक्रमण देखिएकाहरु अस्पताल जान्छन्, फेरि ठिक भएपछि काममा फर्किन्छन्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले भने।

संक्रमण जतिमा देखिन्छ त्यति नै संख्यामा प्रधान कार्यालयबाट थप टोली मगाउने तयारी भएको छ।

‘संक्रमणको जोखिम अग्रभागमा खटिनेलाई जहिले पनि बढी हुन्छ, यो पहिले नै अनुमान गरिएको कुरा हो, अहिले देखियो भन्दैमा हतासिने कुरै छैन,’ डीआईजी पोख्रेलले नेपालखबरसँग भने।

संक्रमण देखिएपछि प्रहरीलाई बाह्य मानिससँग भेटघाटमा प्रतिबन्ध लगाइएको छ। ब्यारेकभित्रै पनि एक अर्कामा अनावश्यक भेटघाट नगर्न र आफन्तसँग पनि यतिबेला भेटघाट नगर्न प्रहरीलाई निर्देशन दिएको छ।

अब जाने टोलीलाई छरेर ड्युटीमा नखाटाउन पनि प्रधान कार्यलयको निर्देशन छ।

जतिसक्दो कमलाई बाहिर खटाउने र बाँकीलाई कार्यालयमै राख्ने निर्णय भएको छ। अहिले उपत्यकामा थप ६ सय जनशक्ति प्रधान कार्यालयबाट मगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad