रोशी खोला क्षेत्रमा बाढीले सडक अवरुद्ध हुन थालेपछि बीपी राजमार्गमा राति सवारी चलाउन रोक लगाइएको छ।
प्रि–मनसुन सक्रिय भएसँगै मौसममा देखिएको अस्थिरता र सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बीपी राजमार्गमा रातमा समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, सिन्धुलीको सोमबार बसेको बैठकले राजमार्गको संवेदनशील खण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीका प्रशासकीय अधिकृत प्रविण कटुवालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा चल्ने सबै प्रकारका सवारीलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि रोक लगाएको जनाएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ।
विशेषगरी बीपी राजमार्ग अन्तर्गत पर्ने सिन्धुली र काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा रोशी खोलामा आउने बाढीले पटक–पटक सडक अवरुद्ध हुने गरेको छ। यस्ता जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षाका लागि रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको कटुवालले बताए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन तथा सिन्धुली र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीबीच भएको समन्वयात्मक छलफलका आधारमा निर्णय लिइएको जनाइएको छ। प्रशासनले मौसमको अवस्था, वर्षा र खोलामा आउने बाढीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक परे जुनसुकै समयमा पनि छोटो अवधिका लागि सवारी आवागमनमा थप प्रतिबन्ध लगाउन सकिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले विशेषगरी नेपालथोक–कटुञ्जेबेंसी खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रा अघि सडकको वास्तविक अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रशासनले सम्भावित विपद् जोखिमबाट जोगिन अनावश्यक यात्रा नगर्न, मौसमको पूर्वानुमान हेरेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न भनिएको छ।

Shares

प्रतिक्रिया