काठमाडौँ उपत्यकामा आज (सोमबार) अघिल्लो दिनको तुलनामा न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस देखिएको हो।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो। यस हिसाबले आज उपत्यकाको न्यूनतम तापक्रम कम्तीमा १.५ डिग्री घटेको छ।
यसैबिच आज पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको मौसमविद् दाहालले बताएका छन्।
‘आज पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर हिजोको भन्दा कम हुन्छ, अपराह्नतिर हल्का वर्षा हुने सम्भावना छ।’
अहिले बिहान भने काठमाडौँ उपत्यकाको आकाशमा आंशिक रूपमा बादल लागेको उनले बताए।
देशभर कहाँ-कहाँ वर्षा होला भन्ने विषयमा चाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
Shares

प्रतिक्रिया