ad ad

समाज


कोरोनाबाट पहिलो मृत्युः काठमाडौंको टोखा पनि ठूलो त्रासमा, तीन जनप्रतिनिधि नै परीक्षणमा

कोरोनाबाट पहिलो मृत्युः काठमाडौंको टोखा पनि ठूलो त्रासमा, तीन जनप्रतिनिधि नै परीक्षणमा

नेपालखबर
जेठ ५, २०७७ सोमबार ४:२५,

नेपालमा कोरोनाबाट भएको पहिलो मृत्युका कारण काठमाडौंको टोखा नगरपालिकामा पनि ठूलो त्रास फैलिएको छ।

कोरोना संक्रमणबाट देशमै सबैभन्दा पहिले मृत्युको सिकार बनेकी सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी २९ वर्षीया सुत्केरी यसअघि त्यही नगरपालिकाको वडा नम्बर ९, गोंगबुमा डेरा गरी बसेकाले त्यहाँ पनि संक्रमण फैलिएको छ कि भन्ने सन्त्रास फैलिएको हो।

टोखा नगरपालिकाका प्रमुख (मेयर) प्रकाश अधिकारीका अनुसार ती महिलाको परिवारसँग सम्पर्क गरेका तीन जनप्रतिनिधिसहित २४ जनाको स्वाब पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा पठाइएको छ।

‘आज साँझसम्म त्यसको रिपोर्ट आउने प्रतीक्षामा छौं,’ सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै मेयर अधिकारीले भने, ‘हामी त निकै ठूलो त्रासमा पो छौं, तीन जना जनप्रतिनिधिसमेत परेका छन्।’

उनका अनुसार ती तीन जनप्रतिनिधिले ती सुत्केरीको डेरामा राहत पुर्‍याएका थिए। कथं उनीहरूको रिपोर्ट पोजिटिभ आएका खण्डमा टोखामा निकै ठूलो दायरामा संक्रमण फैलिएको हुन सक्ने सम्भावना छ।

‘उहाँहरू त जनप्रतिनिधि, धेरै ठाउँमा राहत बाँड्न जानुभएको छ, बैठकमा बस्नुभएको छ,’ उनले भने, ‘कसैगरी उहाँहरूको रिपोर्ट पोजिटिभ देखियो भने त टोखा नगरपालिकाभरि नै संक्रमणको त्रास फैलिनेछ।’

उनका अनुसार ती सुत्केरीका आफन्त ५, उनीहरूलाई राहत दिन गएका तीन जनप्रतिनिधि र वरपरका छिमेकी गरी २४ जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला आइतबार नै पठाइएको हो। ‘त्यसको रिपोर्ट सकेसम्म छिटो गरिदिन भनेका छौं,’ उनले भने, ‘आज साँझसम्म आउने आशामा छौं।’

ती २४ रिपाेर्ट के कस्ताे आउँछ, त्यस आधारमा थप कदम चालिने मेयर अधिकारीले बताए। 

‘ती महिलालाई कहाँबाट संक्रमण सर्‍याे भन्ने आधिकारिक पुष्टि अहिलेसम्म हुन सकेको छैन, यहाँ टाेखामै रहँदा सर्‍याे कि टिचिङ हस्पिटलमा वा उनकै घर सिन्धुपाल्चोक बाह्रबिसेमा,’ उनले भने, ‘त्यो फैसला आज होला।’

उनका अनुसार सुत्केरी हुन उनी वैशाख २३ गते टिचिङ हस्पिटल (महाराजगन्ज) गएपछि यता (टोखा) फर्किएकी छैनन्।

अस्पतालमा शिशु जन्माइसकेपछि उनी उतैबाट सीधै घर गएकी थिइन्। र, ज्वरो, खोकी देखिएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको थियो। उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु भएको पहिलो घटना घोषणा गरेको थियो। 

त्यसलगत्तै शनिबार रातिदेखि टोखा वडा नम्बर ९ सिल गरिएको छ।

टोखा नगरपालिकामा आवश्यकताअनुसार आरडीटी र पीसीआर गरी १२–१३ सय जनाको नमुना परीक्षण गर्ने योजना बनाइएको जानकारी पनि मेयर अधिकारीले दिए।

‘त्यसका लागि मंगलबार यहाँका स्वास्थ्यकर्मीलाई तालिम दिँदै छौं,’ उनले भने, ‘टेकु प्रयोगशालामा मात्रै भरपर्दा काम ढिला हुने भएकाले हामीले स्थानीय प्राविधिकलाई नै परिचालन गर्न लागेका हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .